नोबेल पुरस्कार विजेता युनूस स्वदेश फिर्ता, केही महिनाभित्र चुनाव गराउने प्रतिवद्धता



शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यवाहक सरकारको नेतृत्व गर्न बिहीबार बङ्गलादेश फर्किएका छन् । 

आरक्षण विरोधी आन्दोलनबाट सुरु भएको बङ्गलादेशको राजनैतिक असन्तुष्टिले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा गरी देश छोड्न बाध्य बनाएपछि विद्यार्थी नेताहरूको प्रस्तावमा सरकारको नेतृत्व गर्ने समहतिका साथ उनी स्वदेश फर्किएका हुन्।


बिहीबार दिउँसो पेरिसबाट दुबई हुँदै ढाका पुगेका युनसले बिहीबार साँझ नै नयाँ सरकार प्रमुखको  रूपमा शपथ लिने सम्भावना सार्वजनिक गरिएको छ ।   

सरकारको गैर–जिम्मेवारीपनको बीचमा उर्लेको विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको मागमा सेनाले सहमति जनाएसँगै हसिनाले पदबाट राजीनामा दिन बाध्य हुनुपरेको थियो । 

युनसले ढाकाका लागि प्रस्थान गर्दा पेरिसमा पत्रकारसमक्ष आफू घर फर्कन पर्खिरहेको र त्यहाँ के भइरहेको छ, कसरी समस्याबाट बाहिर निस्कन सक्छौँ भनेर सोच्न समर्थक सबैलाई आह्वान गरेका थिए । ​

युनुसलाई यस पहिलेको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाहरूको आरोप लगाएपछि उनी निर्बासनमा बस्दै आएका थिए । 

सेना प्रमुख जनरल वाकर–उज–जमानले युनसको समर्थनमा रहेको जनाउँदै बिहीबार साँझ अन्तरिम सरकारको नेतृत्वको शपथ लिने आशा व्यक्त गरे । यसरी आगामी दिनमा लोकतान्त्रिक प्रक्रियाको माध्यमबाट मुलुकलाई अगाडि बढाउन सक्षम हुने विश्वास जमानले व्यक्त गरे । 

ढाका विमानस्थलमा पत्रकारहरूसँग युनसले ‘केही महिनाभित्र’ चुनाव गराउन चाहेको बताउँदै मुलुकले दोस्रो पटक स्वतन्त्रता प्राप्त गरेको उल्लेख गरेका छन् । उनले छिट्टै आफ्नो संलग्नतामा विजय उत्सव मनाउने बताएका छन् ।