नेपाल प्रिमियर लिगमा आठ टोली



काठमाडाैँ । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ टोलीले सहभागिता जनाउने भएका छन् । बिहीबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले स्वामित्व किन्नका लागि विभिन्न कम्पनीहरूले दिएको आवेदनमार्फत आठ टोलीलाई छनोट गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

यसअघि घोषणा गरिएको नेपाल ट्वान्टी–२० लिगको ‘च्याप्टर क्लोज’ गर्दै क्यानले आफ्नो आधिकारिक फ्रेन्चाइज लिगको रूपमा नेपाल प्रिमियर लिगको नयाँ संस्करण घोषणा गरेको हो । प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने बताइएको छ । यसका लागि क्यानले लोगोसमेत सार्वजनिक गरिसकेको छ । सार्वजनिक लोगोमा बल र ब्याटको मिश्रण देखिन्छ । बलमा नेपालको चन्द्र सूर्य राखिएको छ ।


एक वर्षअघि भएको नेपाल ट्वान्टी–२० लिगमा विराटनगर सुपर किङ्स, जनकपुर रोयलर्स, काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, फार वेस्ट युनाइटेड र लुम्बिनी अल स्टारले सहभागिता जनाएका थिए । फाइनलमा विराटनगरलाई २४ रनले पराजित गर्दै पहिलो संस्करणको उपाधि लुम्बिनीले जितेको थियो । तर, कमर्सियल अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोटर््स लिग चल्दाचल्दै बीचमै भागेपछि खेलाडीले तलब पाएका थिएनन् । त्यस्तै, लिगमा म्याच फिक्सिङ भएपछि क्यानले बदनामी भोग्न परेको थियो । यसपल्ट भने त्यो कुरा बिर्सिएर नयाँ लिगको घोषण गरिएको प्रवक्ता लामाले बताए ।

यस्तै, क्यानले राष्ट्रिय टोलीका पूर्वकप्तान लेखबहादुर क्षेत्रीको संयोजकत्वमा छनोट समिति गठन गर्ने निर्णय गरेको छ । यसअघि नेपाली राष्ट्रिय टोलीका  पूर्वखेलाडी दीपेन्द्र चौधरी छनोट समितिका संयोजक थिए । उनको कार्यकाल सकिएसँगै क्यानले छनोट समिति गठन गर्न आवेदन आह्वान गरेको थियो ।  प्राप्त आवेदनमध्येबाट क्षेत्रीको संयोजकत्वमा युनिल श्रेष्ठ र मुर्तुजा हवारी सदस्य रहने गरी तीन सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरिएको लामाले बताए ।

क्यानले वेस्ट इन्डिज र अमेरिकामा भएको आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागी राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई जनही तीन लाखका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । अन्य सपोर्ट स्टाफलाई भने एक लाख ५० हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ । एक दशकपछि दोस्रोपल्ट विश्वकपमा फर्किएको नेपाल जितविहीन भएको थियो । नेपाल रहेको समूहमा दक्षिण अफ्रिकासँगै बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स थिए । बंगलादेश २१ रन र नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित भयो । श्रीलंकासँगको खेल वर्षाका कारण रद्द हुँदा दक्षिण अफ्रिकासँगको खेलमा भने नेपालले एक रनको हार बेहोरेको थियो ।