नेपालमा पनि बढ्यो मङ्कीपक्स संक्रमणको जोखिम



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्कीपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । मङ्कीपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रुत रूपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

‘नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मङ्कीपक्स संक्रमण देखिएकाले पनि नेपाल मङ्कीपक्स संक्रमणको जोखिम नरहेको भन्न सकिँदैन’, उनले भने ।


उनले मङ्कीपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताए । मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ । केही दिनयता अफ्रिकी मुलुक कङ्गोमा मङ्कीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ बि’ फैलिरहेको छ । मन्त्रालयका अनुसार जनवरी यता मात्र उक्त भाइरसका कारण पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि मङ्कीपक्स संक्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपत्कालिक घोषणा गरेको छ ।

सर्ने तरिका

मङ्कीपक्स सङ्क्रमित भएको व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, ¥यालको सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।

मङ्कीपक्स संक्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थिहरू बढ्ने गर्दछन् । आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्दछ ।

मन्त्रालयको पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भएता पनि नागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मङ्कीपक्स संक्रमणको रोकथाम र नियन्त्रण गर्न सम्भव हुने जनाइएको छ ।