धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा



म्याग्दी (बेनी) । म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन् । विसं २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको यस पदमार्गको प्रवर्द्धन र पूर्वाधार निर्माण अभियानले पूर्णता नपाउँदा पदमार्गका मनमोहक तालहरू ओझेलमा परेका हुन् । 

पदमार्गका प्रमुख आकर्षणको रूपमा रहेको उच्च हिमाली क्षेत्रका ताल तलैया सुविधायुक्त पदमार्गलगायतका पर्यटन पूर्वाधारको अभावमा ओझेलमा परेको चिमखोलाका स्थानीय युवा ओम पुनले बताए ।


 ‘‘हिमालको फेदीदेखि पहाडका टाकुराहरूमा मनमोहक ताल छन्, तर आधार शिविर हुँदै यी तालमा पुग्न व्यवस्थित पदमार्ग निर्माणले पूर्णता पाएको छैन’’, पुनले भने । धौलागिरि आइसफल आधार शिविरमा मनमोहक निली बराह ताल छ । धौलागिरिको फेदीमा रहेको यो तालले पर्यटक लोभ्याउने गरेको छ । यस तालको पानीको रङ्ग निलो छ । जमिनमाथि रहेको यो तालमा पानीको स्रोत नदेखिए पनि ताल कहिल्यै नसुक्ने विशेषता रहेको चिमखोलाका अगुवा गमबहादुर पुनले जानकारी दिए । 

धौलागिरि आइसफल पदमार्गअन्तर्गत कालीबराह ताल अर्को आकर्षण मानिन्छ । वरिपरि हिमाली भू–भागले ढाकिएको कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाइमा अवस्थित छ । अधिकांश समय हिउँले ढाकिने यो क्षेत्र बर्खायाममा बुकी फूलले रमणीय देखिन्छ ।

आधार शिविर र चिमखोलाको कालीबराह खोलाको दोभानबाट एक दिनको पदयात्रामा पुग्न सकिने कालीबराहमा मुस्ताङको लेतेबाट परम्परागत गोठ र भोट जाने पदमार्ग जोडिएको छ । कालीबराहमा जनै पूर्णिमाको अवसरमा विशेष पूजाआजा हुने गर्छ । यहाँ भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यहाँ  ताल परिसरमा बराह थानसमेत छ । कालीबराह नजिकै पहाडको टाकुरामा रहेको पहेँली बराह ताल समुद्री सतहदेखि चार हजार सात मिटर उचाइमा छ । हिउँदयाममा चिसोले जम्ने यो ताल पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रूपमा परिचित छ । यस पदमार्गमा निली बराह, कालीबराह, पहेँलीबराह तालसँगै लाटीबराह, सेतीबराह र मनिबराह तालसमेत पदमार्गमा पर्ने स्थानीय कृष्ण पाईजाले जानकारी दिए । 

यहाँका ताल तलैयामा हुने पानीको रङ र बराहको नामबाट तालहरूको नामाकरण गरिएको छ । स्थानीयले ताल तलैयामा भारा पूजा गर्ने चलन छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत अहिले रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको ससलधारादेखि धौलागिरि हिल भ्यू प्वाइन्ट सम्मको बाटोमा व्यवस्थित पदमार्ग निर्माण भएको छ । यसबीचमा रहेको कोखेभिर र धौलागिरि भ्यू प्वाइन्टबाट आधार शिविर जाने अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी छ ।  आधार शिविरबाट पहेँलीबराह, कालीबराह हुँदै लेते जाने परम्परागत गोरटो बाटोमा व्यवस्थित पदमार्ग बन्न नसकेको पाईजाले बताए । 

भिरमा पदमार्ग नहुँदा रघुगङ्गा नदीलाई दुई ठाउँ वारपार गर्नुपर्ने र भिरमा डोरीको सहायता लिनुपर्ने बाध्यता छ । यस पदमार्गमा कालीबराह खोला र धौलागिरि भ्यू प्वाइन्ट हिललगायतका ठाउँमा झोलुङ्गे पुलको अभाव छ । रघुगङ्गा गाउँपालिकाले एक सय २२ किलोमिटर लामो आइसफल पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको छ । 

डिपिआर अनुसार पदमार्ग, आश्रयस्थल, झोलुङ्गे पुललगायतका पूर्वाधार निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गाउँपालिका जुटेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । 

 ‘‘आइसफल पदमार्गमा गत वर्षसम्म सङ्घीय सरकारबाट पदमार्ग बनाउने योजना सञ्चालन भएको थियो, तर त्यसलाई पूर्णता दिन हामीले गुरुयोजना बनाएर स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा पहल थालेका छौँ’’, अध्यक्ष भण्डारीले भने । 

धौलागिरि हिमालको आधार शिविर, धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका मनमोहक हिमशृङ्खला, हिम चुचुराबाट हिउँ खसेको दृश्यसँगै ग्लेसियर, रघुगङ्गा नदीको मुहान, सुन छहरा, गुफा, ओढार र अग्ला डाँडाकाँडाको मनोरम दृश्यले यस पदमार्गमा आउने पर्यटकलाई लोभ्याउने गरेको छ ।