दुई सातादेखि शिक्षक बेपत्ता



कर्णाली । जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन् । शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालय समाइलामा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन् ।

उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए । साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै हिँड्नुभएका आफन्त गोपी सिंहले जानकारी दिए । “साउनमा विद्यालय बिदा भएकाले भारतमा म काम गर्ने मोडर्न फेसन सुपर मार्केटमा केही कपडा तथा सामग्री लिन जाउँ भनेर हामी १७ गते दैलेखी मीना होटलमा पुगेका हौँ । जेठान दाइले जुम्लाबाट रु ४० हजार पठाउँदै हुनुहुन्छ भनेपछि पर्खिँदा धेरै बसाइँ भयो । २५ गते दिनभरि कोठामा सुतेर बेलुका ४ बजे बाहिरिएपछि उहाँ फर्कनुभएको छैन”, सिंहले भने ।


गत साउन २६ गतेसम्म आउनुहुन्छ कि भनेर कुरेको बताउँदै धनबहादुर नआएपछि घरमा ससुराबुबा हंसबहादुर शाहीलाई खबर गरेको सिंहले बताए । ससुरा नेपालगञ्जमा आएर खोज्दा नभेटिएपछि आफैँ निवेदक भएर नेपालगञ्ज जिल्ला प्रहरी कार्यालयमा खोजीदिनका लागि उजुरी हालेको उनले बताए । यही भदौ २ गते नेपालगञ्जबाट जाजरकोट फर्किसक्नुभएका सिंहले सम्पर्कविहीन शाहीको खोजीमा सहयोग गरिदिन सबेलाई आग्रह गरे ।

शिक्षक शाहीका बुबा हंसबहादुरले छोरा र ज्वाइँ गोपी सिंह सोही होटेलमा सँगै बसेको तर साउन २५ गते बाहिर गएर आउछु भनेर निस्किएको छोरा नफर्केको खबर पाएपछि आफू त्यही पुगेको बताए । उनले भने, “नेपालगञ्ज पुगेर जताततै खोजियो तर उसलाई भेटाउन सकिएन । फोन पनि बन्द छ । खाना खाएको रु १६ हजार नौ सय पुगेपछि ज्वाइँ गोपी छोरा आउने आशमा त्यही बस्नुभएको रहेछ ।”

होटल धनीलाई पछि तिरौँला भन्ने भाका गरी घर फर्केको पीडित शाहीले दुखेसो पोखे । हराएको धेरै दिनसम्म सम्पर्कमा नआएपछि जतिसक्दो चाँडो खोजी दिन उनले प्रहरी प्रशासनलाई आग्रह गरे ।

उक्त होटल धनी मीना सुनारले गत साउन १७ गते आफ्नो होटलमा पुगेका दुवै जना दश दिन जति होटलमा बसेका बताए । “साउन २५ गते शिक्षक शाही कतिबेला बाहिरिनुभयो थाहा पाएनौँ । उनी नफर्केपछि खोजी सुरु गरेका थियौँ”, उनले भने, “दुवैले यहाँ बस्दा खाएको रु १६ हजार नौ सय उहाँको बुबा, श्रीमती र बहिनीले पछि तिरौँला भनी नागरिकतालगायत आवश्यक कागजात लिएर घर फर्किनुभएको छ । हराउनुभएका शाहीको आजसम्म कुनै खबर पाएका छौनौँ ।”