दलित समुदायको प्रतिनिधित्व: सिद्धान्त एकातिर, व्यवहार अर्कोतिर



काठमाडौं । नेपालको संविधानमा महिला, आदिवासी जनजाति, मधेसी, दलित र उत्पीडनमा परेका समुदायसहित राज्य संरचनामा समानुपातिक समावेशी सहभागिता हुने भनिएको छ ।

‘…वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने’, संविधानको प्रस्तावनामै भनिएको छ ।


तर संविधानको संकल्प अनुसार सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनसकेकामा सरोकार भएकाहरू असन्तुष्ट छन् । कार्यपालिका (सरकार), व्यवस्थापिका (संसद्) र न्यायपालिका (अदालत) मा विगतदेखि नै पहुँच र प्रतिनिधित्व कमजोर भएका वर्ग र समुदायको अहिले पनि सन्तोषजन सहभागिता सुनिश्चित हुन नसकेको उनीहरूको भनाइ छ ।

धेरैले पछिल्लो समय सरकारमा दलितलगायत समुदायको सहभागिताले पनि समानुपातिक समावेशी प्रतिनिधित्व कार्यान्यनको अवस्था प्रष्ट हुने भन्ने गरेका छन् । हालको मन्त्रिपरिषद्मा दलित समुदायबाट एक जना मात्रै राज्यमन्त्री छन् । यसअघिको सरकारमा पनि दलित समुदायबाट एकजनामात्रै राज्यमन्त्री थिए ।

अहिले प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिक १५ र प्रत्यक्षबाट एक गरी १६ जना सांसदको प्रतिनिधित्व छ । पाँच दशमलव ८१ प्रतिशत मात्रै हो । संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभाको निर्वाचन, २०७४ मा १९ जना (६ प्रतिशत) को प्रतिनिधित्व थियो ।

संविधानसभा २०६४ मा ६ सय एकजनामा ५१ जना (आठ दशमलव ४८ प्रतिशत) दलित समुदायबाट प्रतिनिधित्व रहेकामा संविधानसभा २०७० मा त्यो संख्या घटेर ४१ जना (६ दशमलव ८२ प्रतिशत) मा झरेको थियो । यस समुदायबाट पहिलो पटक २०३१ सालमा हिरालाल विश्वकर्मा सहायक शिक्षामन्त्री बनेका थिए ।

विसं २०३१ देखि २०४१ सम्म उनी चार पटकसम्म शिक्षा राज्यमन्त्री र आपूर्ति सहायकमन्त्री बनेका थिए । विसं २०३१ देखि २०६३ सम्म देशमा धेरैजना मन्त्री बन्दा हिरालाल विश्वकर्मा, प्रकाश चित्रकार, लालबहादुर विश्वकर्मा, हरिशंकर परियार, गोल्छे सार्की, प्रतापराम लोहार र मीनबहादुर विश्वकर्मा गरी सात जनामात्रै सहायक र राज्यमन्त्री बने ।

विसं २०६२–६३ को जनआन्दोलनपछि २०६३ वैशाख १२ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित अन्तरिम सरकारमा पहिलो पटक खड्कबहादुर विश्वकर्मा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री र छविलाल विश्वकर्मा कृषि तथा सहकारीमन्त्री बनेका थिए ।

त्यसपछि छविलाल विश्वकर्मा, महेन्द्र पासवान, खड्कबहादुर विश्वकर्मा, विशेन्द्र पासवान, दलजित श्रीपाइली, मीनबहादुर विश्वकर्मा, जगतबहादुर सुनार विश्वकर्मा र महेश्वरजंग गहतराज मन्त्री बने । त्यसैगरी २०६३ सालपछि नवीनकुमार विश्वकर्मा, जीतबहादुर दर्जी (गौतम), खड्कबहादुर बस्याल, कलावती पासवान, दलबहादुर सुनार, गोपी अछामी, रमनी राम, धनमाया विक, कर्णबहादुर विक, विमला विक र आशा विक राज्यमन्त्री बनेका थिए ।

यो तथ्यले पनि राज्यसत्तामा दलित समुदायको उपस्थिति बढाउनुको सट्टा साँघुरो पार्दै लगिएको यस समुदायका सांसदहरूको भनाइ छ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार जनसंख्याका आधारमा संसद् र सरकारमा दलित समुदायको अनिवार्य उपस्थितिका लागि संविधानमै व्यवस्था गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्छन् ।

संविधानको धारा ७६ (९) मा संघीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था छ तर यसको पालना भएको देखिँदैन । यसका साथै धारा ४२ (१) मा सामाजिक रूपले पछाडि परेकालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने व्यवस्था भएको, यसको पनि व्यवहारिक कार्यान्वयन नभएको प्रतिनिधिसभा सांसद परियारले बताए ।

यता संसद्मा विचाराधीन अवस्थामा रहेको संघीय निजामती विधेयक महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपांगता भएका व्यक्तिलगायत सम्पूर्ण सीमान्तकृत समुदायको समान प्रतिनिधित्वसहित समावेशी सिद्धान्तबमोजिम हुनुपर्ने माग गरिएको छ । यसको पनि सुनुवाइ भएको छैन । विशेष गरी दलित समुदायका महिलाहरूले महिलाभित्र पनि सीमान्तकृत महिलाका लागि निजामतीमा आरक्षण अनिवार्य व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

संविधानको मर्म र भावना अनुरूप निजामती सेवा हुनुपर्ने उनीहरूको माग छ । दलित महिला अधिकारकर्मी एवं दलित महिला संघका महासचिव रेणु सिजापति निजामती सेवामा महिला आरक्षणतर्फ व्यवस्था गरिएको २७ प्रतिशतभित्र दलित महिलाका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने धारणा राख्छिन् ।

‘हालको विधेयकमा महिलाभित्र पनि समावेशी समूहका आधारमा आरक्षणको व्यवस्था गर्नु राम्रो कुरा हो तर त्यसमा खसआर्य महिलाका लागि छुट्याइएको २७ प्रतिशतमा पनि दलित महिलाको प्रतिनिधित्व बढाउन आवश्यक छ’, उनले भनिन् ।

हालको निजामती विधेयकको प्रस्तावित मस्यौदामा महिला आरक्षणतर्फ खस आर्य २७ प्रतिशत, आदिवासी जनजाति २५ प्रतिशत, मधेसी १५ प्रतिशत, दलित १२ प्रतिशत, थारू ६ दशमलव ६ प्रतिशत, मुस्लिम चार प्रतिशत, पिछडिएको क्षेत्र चार र अपांगता भएका व्यक्ति चार प्रतिशत गरी कोटा छुट्याइएको छ । यसअघिको ऐनमा महिलाभित्रको आरक्षण छुट्याइएको थिएन ।

संघीय निजामती सेवा विधेयकमा समावेशीकरण दृष्टिबाट हेर्दा विधेयकको दफा ११ को पदपूर्तिसम्बन्धी विशेष व्यवस्थाको उपदफा (१), (२) र (३) मा समावेशी व्यवस्थाका लागि छुट्याइएको पदमध्ये ४९ प्रतिशतलाई शतप्रतिशत मानी त्यसको ५० प्रतिशतमा समावेशीबाट महिलामात्र र बाँकीमा समावेशी समूहका उम्मेदवार हुने व्यवस्था गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्माले महिलाभित्र पनि दलित महिलाका लागि प्रतिशत छुट्याउनुपर्ने माग गरे ।

लोक सेवा आयोगका अनुसार निजामतीतर्फ दुई दशमलव तीन प्रतिशत, प्रहरीतर्फ नौ दशमलव ४६ प्रतिशत र सैनिकतर्फ आठ दशमव १८ प्रतिशत दलितको उपस्थिति रहेको देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य परशुराम रम्तेल जनसंख्याको अनुपातमा यो संखाय निकै रहेकाले दलितलाई आरक्षण प्रतिशत बढाउनुपर्नेमा जोड दिन्छन् ।

‘संविधानले गरेको समानुपातिक समावेशीको सिद्धान्त अनुसार राज्यका सबै तह, तप्का र निकायमा प्रतिनिधित्व हुनुपर्छ तर अहिले त्यसको अक्षरशः कार्यान्वयन भएको देखिँदैन, यसर्थ सदियौँदेखि आर्थिक, सामाजिक, सांस्कृति, राजनीतिक रूपमा पछाडि परेका दलित समुदायलगायतको प्रतिनिधित्व बढाउनुपर्छ’, उनले भने ।