दक्षिण जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी



जापानको दक्षिणी क्षेत्रमा ६.९ र ७.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वे (युएसजिएस) ले भूकम्प क्युशुको मियाजाकी क्षेत्रमा ३३ किलोमिटरको गहिराइमा रहेको बताएको छ । जापानी प्रसारक एनएचके वल्र्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमाजस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

“सुनामीको छाल पटक पटक आउनसक्छ, त्यसैले कृपया अर्को जोखिम टरेको अर्को सूचना जारी नहुँदासम्म समूद्र र तटीय क्षेत्रमा नजान र अग्लो स्थानमा रहन आवश्यक हुनेछ,” जापानको मौसम विज्ञान निकायले सामाजिक सञ्जाल एक्समा जारी संक्षिप्त निर्देशनमा भनिएको छ ।


भूकम्पपछि सावधानीका लागि प्रधानमन्त्री फुमियो किसिदाले पनि भूकम्पसम्बन्धी केही निर्देशन जारी गरेका छन् । सुनामी र स्थानान्तरणसम्बन्धी सही जानकारी नागरिकलाई समयमै उपलब्ध गराउन, क्षति हुन नदिन सर्वसाधारणलाई उद्धार गर्नेजस्ता कदम चाल्न र जतिसक्दो चाँडो क्षतिको बारेमा स्थितिको आँकलन गर्न प्रधानमन्त्री किसिदाले प्रशासनलाई निर्देशन दिएका छन् ।

उनले स्थानीय तहसँग घनिष्ट समन्वय कायम गर्न र जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न सुरक्षाकर्मी तथा अन्य उद्धारमा खटिने सङ्घसंस्थालाई निर्देशन दिएका छन् ।