त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध खनिइन् सुमना



काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएकी छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो ? भन्दै प्रश्न समेत गरेकी छिन् ।


‘विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो ?’ श्रेष्ठले ट्विटरमा लेखेकी छन्, ‘पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावण १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नुभयो ।’

उक्त नीति तथा कार्यक्रम विभिन्न तहको समीक्षा पार गरेको र त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको श्रेष्ठले उल्लेख गरेकी छन् ।

‘रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहिँ चित्त बुझेन छ यहाँलाई ?’ श्रेष्ठले ओलीलाई प्रश्न गरेकी छन्, ‘त्रिवि प्राज्ञले भन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको ? यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनुहुँदैन भन्ने कुरा झनै प्रष्ट पार्छ ।’