तेक्वान्दोमा नेपाललाई तीन पदक



काठमाडौं । सेभेन्थ हिरोज तेक्वाण्दो इन्टरनेशनल च्याम्पियनसीपको सिनियरतर्फ नेपालले एक रजत, र २ काश्यसहित कुल ३ पदक जितेको छ । चन्द्रबहादुर थापाले रजत पदक, भीमबहादुर खड्का र वर्षा थापा तथा गीता विष्टको जोडीले देशलाई काश्य पदक दिलाएका हुन् ।

नेपालका लागि पदक जित्ने सबै खेलाडी सशस्त्र प्रहरी बलमा आवद्ध रहेका छन् । पछिल्ला दिनमा थाइल्याण्डमा भएको इन्टरनेशनल च्याम्पियनसीपमा सशस्त्रका ४ खेलाडीले ३ पदक जितेका हुन् ।


थाइल्याण्डको ब्यांगो वेमा यही अगस्ट १० देखि १२ सम्म ३ दिन चलेको प्रतियोगितामा नेपालका लागि सशस्त्र प्रहरीका खेलाडी चन्द्रबहादुर मगरले पुम्शे विधामा ऐतिहासिक रजत पदक जितेका हुन् । तर उनको स्वर्ण जित्ने सपना भने पुरा हुन सकेन ।

यसैगरी नेपाललाई पदक जिताउने क्रममा सशस्त्र प्रहरीकै महिला समुहतर्फको भिडन्तमा वर्षा थापा र गीता विष्टको संयुक्त टिमले पनि काश्य पदक जितेको छ ।यसअघि सशस्त्रकै अर्का खेलाडी भीमबहादुर खड्काले काश्य पदक जितेर नेपालको पोल्टामा पदक थपेका थिए ।

नेपाली खेलकुदमा विभागीय टोली सशस्त्र प्रहरीका खेलाडीले यसरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा जितेको पदकले सिंगै सशस्त्र प्रहरी संगठनको मात्रै होइन, देशकै शान मान र गौरव बढाएको छ । उक्त प्रतियोगितामा विभिन्न १५ देशका खेलाडीको सहभागिता रहेको थियो ।