ढुंगा नपाउँदा नारायणीको कटान मर्मत हुन सकेन



चितवन। नारायणी नदीले कटान गरेको पश्चिम चितवनको सिश्वार क्षेत्रमा ढुंगा अभावमा मर्मत हुन सकेको छैन। भरतपुर महानगरपालिका–२६ सिश्वारमा नदीले दुई ठाउँमा कटान गरेको छ। नदीमा थप बाढी आएमा बस्ती पस्नसक्ने उच्च जोखिम छ।

गत साता भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सरोकारवालाले अनुगमनगरी तत्काल ती ठाउँमा ठूला ढुंगा राखेर नदी कटान रोक्ने निर्णय गरेको थियो। भरतपुर महानगरपालिकाले तत्कालका लागि रु २० लाख दिने निर्णय गरेको छ।


कामको जिम्मेवारी नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरलाई दिइएको छ। कार्यालयका प्रमुख मनोहरकुमार साहले ठूला ढुंगा नपाउँदा काम प्रभावित भएको बताए। उक्त ठाउँमा कम्तीमा चार सय घनमिटर ठूला ढुंगा राख्नुपर्ने हुन्छ। अहिलेसम्म दुई सय घनमिटर ढुंगा राखिएको भन्दै प्रमुख साहले त्यो ढुंगा पानीभित्र नै डुबेको बताए।

सो क्षेत्रमा तटबन्धन नगरिएको तीन सय मिटर क्षेत्र कटान भएको छ। साहले ढुंगाका लागि भरतपुर महानगरपालिका–२९, कालिका नगरपालिका र मकवानपुरको मनहरीमा हेरिएको भए पनि टुंगो लागि नसकेको जानकारी दिए। भरतपुर महानगरपालिकालाई पत्राचार गरेर वडा नं २९ को ढुंगा निकासीका लागि आग्रह गरिएको भन्दै उनले अन्यत्र जहाँबाट भए पनि ढुंगा पाउनासाथ काम गरिने बताए।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालका लागि रु २० लाख महानगरपालिकाले विनियोजन गरेको भन्दै बजेटका कारण काम नरोकिने बताइन्। महानगर क्षेत्रभित्र ढुंगा भेटिएमा आवश्यक सहजीकरण गरेर काम गर्ने उनले बताइन्।

उनले भनिन्, ‘कटान तत्काल रोक्नुपर्छ, त्यसका लागि महानगरपालिकाले गर्नुपर्ने सबै काम गर्न तयार छ।’ नारायणी नदीमा तटबन्ध नगरिएका क्षेत्रमा नदी कटान भएको छ। १० वर्ष अघि तटबन्ध गरिएको वडा नं २८ मा गरेको कटान रोक्न ठूला ढुंगा राखिएको छ। वडा नं १६ र १७ मा पनि नदीले कटान गरेको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नारायणी नदी व्यवस्थापन आयोजनालाई ढुंगा खोज्न भनिएको र आवश्यक सहजीकरणका लागि आफूहरु सकारात्मक रहेको बताए। समयमै सो क्षेत्रमा ढुंगा नराखिएमा नदीले थप कटान गरेमा पश्चिम चितवनमा ठूलो क्षति व्यहोर्नुपर्ने स्थानीय बताउँछन्। तटबन्ध गरिएका कारण अन्य अधिकांश क्षेत्र सुरक्षित छ।