काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी आन्दोलनले जन्माएका नेताहरु ढिलो–चाँडो एमालेमा नै आउने दाबी गरेका छन् । आज (सोमबार) पार्टी आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको सन्दर्भमा अब अलग–अल वामपन्थी पार्टीहरु बनाइरहनु आवश्यक नरहेको बताए ।
उनले एमालेलाई नै सुदृढ बनाएर लैजानुपर्ने र माओवादीका नेताहरु पनि ढिलो–चाँडो एमालेमै आउने बताएका हुन् । ‘अब नेपालको वामपन्थी आन्दोलनभित्र चाहीँ अलग–अलग पार्टीहरु बनाइरहनुपर्ने आवश्यक्ता छैन । एउटै बलियो वामपन्थी केन्द्रको रुपमा एमालेलाई सुदृढ गर्नुपर्छ । ढिलो चाँडो माओवादी आन्दोलनबाट आउनुभएका साथीहरु पनि आउने ठाउँ यही हो,’– उनले भने ।
उक्त कार्यक्रमा नेकपा (माओावादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा एमाले प्रवेश गरेका छन् ।