ठूला दल मिलेर बनेको सरकारप्रति भारतको राम्रो प्रतिक्रिया पाएँ : परराष्ट्रमन्त्री राणा



काठमाडाैं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुई वटा ठुला पार्टी मिलेर बनेको सरकारप्रति भारतीय पक्षको सकारात्मक प्रतिक्रिया पाएको बताएकी छन् ।

पाँचदिने भारत भ्रमण सम्पन्न गरेर बिहीबार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकलाई आफ्नो भ्रमणबारे ब्रिफिङ गरेकी हुन् । कांग्रेस केन्द्रीयसमेत रहेकी उनले भनिन्, ‘दुई ठुला पार्टी मिलेर बनेको सरकारप्रति कस्तो रिस्पोन्स रहन्छ भन्ने थियो । भेटका क्रममा निकै राम्रो रिस्पोन्स रहेको पाएको यहाँ अवगत गराउन चाहन्छु । विकासमा सहयोग गर्छु भन्नु भएको छ ।’


साथै परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको र सो क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेको जानकारी पनि गराइन् । मोदीले नेपाल भ्रमणमा आउन सकारात्मक रहेको तर कहिले भन्नेबारे चाहिँ निश्चित नभएको उनको भनाई थियो ।

भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय वार्तासमेत भएको स्मरण गराउँदै उनले पञ्चेश्वर, महाकाली नदीको पुल लगायतका एजेण्डामा कुराकानी भएको जानकारी दिइन् । नेपालका विभिन्न स्थानमा हुने डुबान समस्याबारे अध्ययन गर्नेबारे भारतीय अधिकारीहरुसँग छलफल भएको पनि बताइन् ।

यसैगरी कांग्रेस केन्द्रीयसमेत रहेकी राणाले पार्टीभित्र अनुशासन कायम गर्न जोड दिएकी छन् । ‘कुनै पनि ठाउँमा अनुशासन हुँदैन भने पार्टी अघि बढ्न सक्दैन’, उनले भनिन्, अनुशासन हुँदैन भने पार्टी धराशायी हुन्छ ।’ पार्टीभित्र अन्तरघात हाबी रहेको र गत निर्वाचनमा अन्तरघातकै कारण कम सिटमा चित्त बुझाउनु परेको उनको दाबी छ ।