जनताका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न खानेपानी मन्त्री यादवको निर्देशन



काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले जनताका कामलाई पहिलो प्राथमिकता राखेर काम गर्न निर्देशन दिएका छन्। बुधबार बालाजु पानीपोखरी, बालाजु पार्क, माछापोखरी तथा कीर्तिपुरमा निर्माणाधीन ट्यांकीको निरीक्षण एवं अवलोकन भ्रमणका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।

अवलोकन भ्रमणका क्रममा मन्त्री यादवले बालाजु पानी पोखरी बालाजु पार्कमा निर्माण भइरहेका १० लाख र पाँच लाख लिटर क्षमताका खानेपानी ट्यांकीका काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।


उनले सुन्दरीजलबाट काठमाडौं जोड्ने ‘कनेक्टिङ पाइप’ माछापोखरीमा फुस्किएर पानी वितरणमा बन्द भएको खबर आएपछि आज उक्त क्षेत्रको निरीक्षण गरी यथाशीघ्र काम गरी पानी वितरण गर्न कर्मचारीलाई निर्देशन दिए।

मन्त्री यादवले आजै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा निर्माण भइरहेको खानेपानीको नवनिर्मित ट्याङ्कीको निरीक्षण तथा अवलोकन गरे। त्यसक्रममा उनले टियु खेल मैदानमा खेल हेर्न तथा अन्य कामका लागि आउने दर्शकका लागि पानीको उचित व्यवस्थापन गर्न निर्देशन दिए। ‘दर्शकलगायत खेलाडीका लागि यही ट्यांकीबाट पानीको व्यवस्थापन गर्नुस्, चाँडो काम सकेर खानेपानी प्रयोग गर्न पाउने अवस्था बनाउन मेरो आग्रह छ’, उनले भने।

मन्त्री यादवले काठमाडौंका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गरी जनताका घरमा शुद्ध र सफा पानी वितरण गर्नसमेत निर्देशन दिए। ‘शुद्ध खानेपानी पाउनु जनताको नैसर्गिक अधिकार हो। त्यसैले सो अधिकार प्रत्यायोजनका लागि भूमिका खेल्नु हाम्रो दायित्व हो। त्यसैले काम गरेर देखाउनतर्फ लागौँ’, उनले कर्मचारीसँग भने।