गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते



गोरखा । गोरखामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । गोरखा नगरपालिका–६, पाटेचौरस्थित निर्माणाधीन घरको छतमा रेलिङ राख्ने क्रममा करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते हुनुभएका मगरको तत्काल उद्धार गरी गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेजमा पुर्याइएको थियो । उनका उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।


करेन्ट लागेसँगै काम गरिरहेका भारत घर भई गोरखा नगरपालिका–८, पेट्रोल पम्प बस्दै आएका २८ वर्षीय अर्मन खान घाइते भएका छन् । उनको एपोलो अस्पतालमा उपचार भइरहेको डीएसपी श्रेष्ठले बताए ।

छतमा काम गरिरहेका बेला फलामको रडले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छोइन पुग्दा दुवैलाई करेन्ट लागेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।