गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बिहारमा



काठमाडौं । ‘गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण’ सम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि सुरू भएको छ ।

इन्टरनेशनल बुद्धिस्ट कन्फेडेरेसन नयाँ दिल्लीद्वारा नव नालन्द महाबिहारको सहकार्यमा बिहारको नव–नालन्द महाबिहारमा आयोजित सम्मेलनको बिहारका गभर्नर राजेन्द्र अर्लेकरल र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा तथा शाही भुटान मन्दिर केन्द्रीय बिहार निकाय भुटानका सचिव उगेन नामग्यालले संयुक्त रूपमा दीप प्रज्वलन गरेर उद्घाटन गरे।


कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा लामाले गुरु पद्मसम्भवको योगदानको चर्चा गर्नुभएको थियो । गुरु पद्मसम्भवको जीवन र शिक्षाले तिब्बती बौद्ध धर्मलाई विकास तथा विस्तारका साथै अभ्यासकर्ताहरूलाई प्रेरित गरेको जिकिर गरे।

८औँ शताब्दीमा, तिब्बतको हिमालमा बौद्ध धर्मको प्रचार गराउन तिब्बती राजा ट्रिसोङ डेट्सेनले निमन्त्रणा दिएको र तिब्बतमा धर्मराजा त्रिसोङ ड्युसेन र मठाधीश शान्दरक्षितसँग मिलेर बौद्ध परम्पराको स्थापना गरेको उनले उल्लेख गरे।

बिहारका गभर्नर राजेन्द्र अर्लेकरलले दोस्रो बुद्धको संज्ञा दिँदै गुरु पद्मसम्भवको जीवन, शिक्षा र स्थायी प्रभावबारे चर्चा गरे। गुरु रिन्पोछे पनि भनिने पद्मसम्भवलाई तिब्बत, नेपाल, भुटान र भारतको हिमालय क्षेत्रमा बुद्ध धम्म फैलाउने श्रेय जाने उनको भनाइ थियो ।

त्यस्तै कार्यक्रममा शाही भुटान मन्दिर, केन्द्रीय बिहार निकाय भुटानका सचिव उगेन नामग्यालले गुरु पद्मसम्भवको दर्शनबारे उजागर गर्ने प्रयास भएको र सम्मेलनले उहाँको जीवन र विरासतमा गहन अन्तरदृष्टि प्रदान गर्ने विश्वास व्यक्त गरे।

सम्मेलनले श्रीलङ्का, भुटान, नेपाल र भारतका विज्ञहरूलाई गुरु रिन्पोछेको जीवन र योगदानका विभिन्न पक्षहरूका बारेमा छलफल गर्नका लागि एउटा मञ्च प्रदान गरेको उनले बताए।

सम्मेलनले बुद्ध धर्मका मूल सिद्धान्तहरूलाई स्थानीय संस्कृति र संवेदनशिलतामा अनुकूलन गर्ने गुरु पद्मसम्भवको क्षमतालाई उजागर गर्ने, स्थानीय प्रतीकहरू र अनुष्ठानहरू प्रयोग गरी भगवान बुद्धका शिक्षाहरू विभिन्न समुदायसम्म पु¥याउने उद्देश्य राखिएको छ । सम्मेलनमा २४ भन्दाबढी देशका प्रतिनिधिको सहभागिता रहनेछ ।