गुरुदेव कामत: शास्त्रीय गीतसंगीतको विश्वविद्यालय



काठमाडौं। नेपाली शास्त्रीय संगीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामत अस्ताएका छन्। दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलासिस गरिरहेका गुरुदेवको ६९ वर्षको उमेरमा आज निधन भएको हो।

काठमाडौंमा उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए। केही दिनदेखि स्वास्थ्यावस्था बिग्रिँदै गएपछि उनले खानपिन निकै कम गरेका थिए। नेपाली संगीतका क्षेत्रमा गायक, संगीतकार एवं संगीत गुरुका रूपमा परिचित कामतको निधनमा संगीतकर्मीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्।


नेपाल–भारत क्षेत्रमा प्रख्यात गुरुदेवको निधनले आफूलाई मर्माहत बनाएको संगीतकार राजु सिंहले बताए। उनीसँग विसं २०५५ देखि नै सम्पर्कमा रहेका संगीतकार सिंहले पछिल्लो समय प्रत्यक्ष भेटघाट गर्न नपाए पनि टेलिफोनमार्फत कुराकानी गरेका थिए।

‘म आफैँ पनि बिरामी भएकाले गुरुदेवसँग प्रत्यक्ष भेट्न पाइन। किनकी उहाँलाई मिर्गौलाको समस्या भएकाले मेरो कारण झन जोखिम हुन्थ्यो। उहाँको निधनले समग्र शास्त्रीय संगीतलाई ठूलो क्षति पुगेको छ’, संगीतकार सिंहले भने, ‘उहाँ शास्त्रीय संगीतमा जति पोख्त हुनहुन्छ, त्यति नै सरल र बुझ्नेगरी सिकाउने गुरू। उहाँसँग निजी कक्षा लिने र नियमित कक्षा लिने थुप्रै विद्यार्थी अहिले गीतसंगीतको चम्किला तारा बन्नुभएको छ। उहाँको गीत सुनेर साधना गर्दा पनि राम्रो संगीत सिकिन्छ।’

जीवनलाई संगीतमा समर्पण गरेर नेपालमा शास्त्रीय संगीतलाई यहाँसम्म ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गुरुदेव उपचारका लागि आर्थिक अभावले गाउँ फर्किनु नै दुःखद् रहेको उनले बताए।

‘गुरुदेव स्वाभिमानी भएकाले कसैलाई केही भन्नुभएन। यद्यपि यस्ता स्रष्टालाई समस्या पर्दा राज्यले हेर्नुपर्छ। नत्र नयाँपुस्ताले के सोचेर संगीतलाई आफ्नो जीवन बनाउँछन् ? सबैको सहयोग हुनुपर्थ्यो’, उनले भने।

गुरुदेवको उपचारका लागि आर्थिक सहायता जुटाउन पहल गरिरहेका कवि एवं मुक्तककार मुकुन्द पौडेलले आफूहरूले सक्दो कोशिस गरे पनि बचाउन नसकेको बताए। ‘शास्त्रीय संगीतमा उच्च नाम बनाउनुभएको एउटा सर्जकको यस्तो अन्त्य हुनुहुन्थेन। हामीले प्रयास गर्दागर्दै पनि बचाउन सकेनौँ। उहाँले जीवन संगीतलाई दिनुभयो, धेरै शिष्य पाउनुभयो तर मिर्गौला प्रत्यारोपणका लागि आवश्यक जोहो गर्न सकिएन’, उनले भने।

गुरुदेवसँग नजिक रहेका कलाकार राधेश्याम विश्वकर्माले उनको महत्त्व बुझ्न नसकेको गुनासो गरे। ‘शुभेच्छुक केही व्यक्ति जम्मा भएर उहाँलाई गर्न सकिने सहयोगका विषयमा हालै छलफल गरेका थियौँ। सामाजिक सञ्जालमार्फत पनि आह्वान गरेका थियौँ। धेरैलाई चासो भएन, अहिले उहाँको स्वर्गारोहण भएपछि चासो बढेको छ। जीवित छँदै यस्तो चासो देखिएको भए राम्रो हुन्थ्यो’, उनले भने।

शास्त्रीय गीतसंगीतसँगै आधुनिक गायनमा व्यस्त गायक युवराज चौलागाईंले गुरुदेवलाई विसं २०६० ताका भेटेको स्मरण गरे। उनी गुरुदेव कहाँ शास्त्रीय गीतसंगीतकै क्रममा पुगेका रहेछन्।

‘शास्त्रीय संगीतमा केही गर्छु भन्नेले उक्त समयमा पुग्ने एउटा ठाउँ नै गुरुदेव हुनुहुन्थ्यो। उहाँले सिकाउने सरल र सभ्य शैलीले विद्यार्थीलाई आकर्षित गर्थ्यो। उहाँलाई सुन्न पाउँदा नै हामी धन्य हुन्थियौँ’, गायक चौलागाईंले भने। उनले गुरुदेवलाई शास्त्रीय गीतसंगीतको विश्वविद्यालय नै मान्छन्। ‘शास्त्रीय गीतसंगीतको चर्चा गर्ने हो भने गुरुदेवविना सम्भव हुन्न, अपुरो हुन्छ’, उनले भने। स्वर्गीय गुरुदेवको तीन छोरा, एक छोरी र श्रीमती छन्।