गाजा सम्झौताका लागि बाइडेनद्वारा नेतान्याहुलाई दबाब



वासिङ्टन । मध्यस्तकर्ताहरूको आग्रहमा आयोजित गाजा युद्धविराम वार्ता अवरूद्ध भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमाससँग गाजा युद्धविराम सम्झौताका लागि दबाब दिएका छन् ।

वार्ताका लागि गरिएका प्रयास सफल हुन नसकेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वको भ्रमणलाई अन्त्य गरेको केही समयपछि बाइडेन र नेतान्याहुबीच टोलिफोनमा कुराकानी भएको हो ।


मध्यपूर्वमा तनाव बढ्दै जाँदा अमेरिकी कुटनीतिज्ञ स्वदेश फिर्ता हुनुले तत्काल थप वार्ताको सम्भावना देखिँदैन ।

यद्यपि, सामाजिक सञ्जाल एक्समार्फत बाइडेनले युद्धविराम र बन्धक मुक्तिको सम्झौता बन्द गर्नुपर्ने जनाउदै बाँकी अवरोध हटाउन आगामी कायरो वार्ताबारे छलफल गरेको जनाएका छन् ।

तेहरानले हमासका शीर्ष नेताको हत्याको बदला लिने धम्की दिएपछि उनले नेतान्याहुसँग इरान र यसको आङ्कवादी समूहबाट हुने खतराविरुद्ध अमेरिकाले इजरायलको रक्षा र समर्थन गर्ने बताए ।

ह्वाइट हाउसले पनि अमेरिकी राष्ट्रपति बाइडेनले सम्झौतामा पुग्न ‘तत्काल जोड दिएको’ जनाएको छ । उपराष्ट्रपति कमला ह्यारिसले पनि फोनमा नेतान्याहुसँग कुराकानी गरेको स्रोतले जनाएको छ ।

एक्सियोस समाचारका अनुसार बाइडेनले नेतान्याहुलाई अमेरिका, इजिप्ट र कतारले मध्यस्थता गरिरहेको वार्तामा थप लचिलो हुन दबाब दिएका छन् ।

गत अक्टोबरमा हमासले गरेको आक्रमणपछि बाइडेन प्रशासनले इजरायलको समर्थनका लागि नेतान्याहूलाई सहयोग गर्दै प्यालेस्टिनी लडाकू समूहलाई निश्क्रय पार्न सैन्य सहायता प्रदान गर्दै आएको छ ।