कोशी प्रदेशमा भदौ १२ गतेभित्र मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की



मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यही भदौ १२ गतेभित्र प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाली कांग्रेसले मन्त्रीको नाम दिनासाथ मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले यही भदौ १४ गतेदेखि सुरू हुने प्रदेशसभा बैठकमा सहभागी हुने गरी सबै मन्त्री नियुक्त हुने बताए । उनले विगतमा भएको सहमतिअनुसार प्रदेशमा मन्त्रालयको सङ्ख्या वृद्धि नहुने र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट मुख्यमन्त्रीसहित पाँच र कांग्रेसबाट चार मन्त्री रहनेसमेत स्पष्ट पारे ।


मुख्यमन्त्री कार्कीले भने, “एक/दुई राज्यमन्त्री थप हुन सक्ने सम्भावना रहे पनि पूर्वसहमतिअनुसार बाँकी मन्त्री रहन्छन् ।” पहिचानवादीहरूका मागका सन्दर्भमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले प्रदेशको नामकरण भइसकेकाले परिवर्तन नहुने र मन्त्री रामबहादुर रानाको नेतृत्वमा रहेको वार्ता टोलीले आवश्यकतानुसार विभिन्न विषयमा वार्ता गर्ने जानकारी दिए ।