कास्कीमा डेंगु सङ्क्रमण बढ्यो, एकै दिन थपिए ४० बिरामी



कास्की । कास्कीमा बुधबार एकै दिन ४० जना डेंगु सङ्क्रमित भेटिएका छन् । योसँगै गत एक सातामा जिल्लामा ७५ जना डेंगुका बिरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत पुस यता यहाँका तीन सय ६२ जनामा डेंगुको सङ्क्रमण भएको कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिए । 

“समयमा नियन्त्रण गर्न नसके डेंगुले भयावह रुप लिन सक्छ”, उनले भने, “पोखरा महानगरभित्रका केही वडामा तीव्र रुपमा डेंगुको सङ्क्रमण फैलिएको छ ।” उनले डेंगुले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने बताए । डेंगु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।


यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए । चार प्रकारको भाइरसबाट मानिसमा डेंगु सङ्क्रमण हुने गरेको उनको भनाइ छ । समयमा उपचार नभए डेंगुबाट बिरामीको मृत्युसमेत हुन सक्ने प्रमुख नेपालीले बताए  । 

गत वर्ष कास्कीमा तीन हजार ६९ जनालाई डेंगु लागेको थियो । तीमध्ये पोखरा महानगरपालिकामा दुई हजार आठ सय नौ थिए । “असारदेखि कात्तिकसम्म डेंगु सङ्क्रमणको जोखिम उच्च रहन्छ, यसबाट बच्ने उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो”, जनस्वास्थ्य निरीक्षक रेग्मीले भने । 

‘खोज र नष्ट गर’
डेंगु सङ्क्रमण बढ्न थालेपछि पोखरा महानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ । बिहीबार यहाँ आयोजित ‘डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा महानगर प्रमुख धनराज आचार्यले लामखुट्टेका सम्भावित बासस्थानको खोजी गरी नष्ट गर्ने अभियानमा सघाउन नगरवासीलाई आग्रह गरे ।

उनले महानगरभित्रका सबै सरकारी कार्यालयले हरेक शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए । उनले महानगरभित्रका ४६ वटै स्वास्थ्य संस्थामा डेंगुको परीक्षण तथा उपचार सेवा निःशुल्क गरिएको बताए ।

“डेंगुले कुनै पनि बेला भयावह रुप लिनसक्छ, हामी सबै सचेत र सतर्क रहनुपर्ने अवस्था छ”, प्रमुख आचार्यले भने, “आफ्नो घर, कार्यालय र सार्वजनिकस्थल सफा राखौँ, लामखुट्टेको टोकाइबाट जोगिऔँ ।”

डेंगुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । डेंगु  ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने उनको भनाइ छ ।

यो लामखुट्टेले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको उनले बताए । “डेंगु  नियन्त्रणको प्रभावकारी उपाय भनेको घर वरपरि पानी जम्न नदिनु हो, यो लामखुट्टे जमेको सफा पानीमा बस्छ र दिउँसोमा मात्र मानिसलाई टोक्छ”, उनले भने । 

डेंगुको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकताअनुसार उपचार सुरु गर्नुपर्ने जनस्वास्थ्य निरीक्षक पाण्डेले बताए । स्वास्थ्य कार्यालयले लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर, भाँडाकुँडा नराख्न र शरीर ढोक्ने गरी लुगा लगाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।

डेंगुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको छ ।