कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, आज महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल हुने



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । यसअघि गत साउन २३ गतेदेखि २८ गतेसम्म बैठक बसेर स्थगित भएको थियो । उक्त बैठकमा पेश भएका विभिन्न ११ वटा प्रस्तावमाथि आजपनि नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेने पार्टीले जनाएको छ ।

बैठकमा महामन्त्रीद्वय गगन थापाले चुनावी गठबन्धन गर्न नहुने र र विश्व प्रकाश शर्माले प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्ने प्रस्ताव गरेका छन् । ती प्रस्तावहरुलाई पार्टी सभापति शेरबहादुर देउवा पक्षधरले विरोध गर्न थालेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएको थियो ।


महामन्त्री शर्माको एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने भन्ने प्रावधान पार्टी विधानमै उल्लेख गर्नुपर्ने प्रस्तावमाथि खुलेर बहस भइरहेको छ ।

देउवा समूहका नेताहरू विमलेन्द्र निधि‚ प्रवक्ता प्रकाश शरण महत‚ एनपी साउद‚ रमेश लेखक‚ ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरू नै दुवै महामन्त्रीको प्रस्तावको विपक्षमा उत्रिएका छन् ।