कांग्रेसद्वारा बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई



काठमाडौं। नेपाली कांग्रेसले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

कांग्रेसले उक्त अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पूर्ण बंगलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न हुने विश्वास लिएको जनाएको छ।


यसैगरी विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसंख्यक विशेष गरी हिन्दू, बुद्धिष्ट समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक भएकाले धार्मिक अल्पसंख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न सफल हुने कांग्रेसले विश्वास लिएको छ।

कांग्रेसको आज भएको केन्द्रीय कार्यसमितिको बैठकले घनिष्ठ कूटनीतिक सम्बन्ध भएको मित्रराष्ट्र बंगलादेशमा विगत केही हप्तादेखि विकसित भइरहेका राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ। कांग्रेस सदैव लोकतान्त्रिक र शान्तिपूर्ण बंगलादेशको पक्षमा रहेको तथा बंगलादेशी नागरिकको लोकतान्त्रिक तथा मानव अधिकारलाई उच्च सम्मान गर्दै आएको उल्लेख गरेको छ।

त्यसैले लोकतन्त्र र शान्तिप्रेमी बंगलादेशी नागरिकको चाहना र भावनाअनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्व बहाल भई राजनीतिक संक्रमण अन्त्य हुने कांग्रेसको विश्वास रहेको पार्टीको निर्णयमा उल्लेख छ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा भएको यही साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ।

आजको बैठकमा, प्रवक्ता डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू जीपछिरिङ लामा, पद्मनारायण चौधरी, डा चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज पाण्डे, मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, गेहेन्द्र गिरी, तारामान गुरुङ, चन्द्रबहादुर केसी, डा आरजु राणा देउवा, अब्दुल सत्तार, नैनसिंह महर, गोविन्दबहादुर शाह, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, मुक्ताकुमारी यादव, जावेदा खातुन जागा, हरिशरण नेपाली, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, दिनेश कोइराला, राधा घले, धना खतिवडा, सीता थपलिया (उर्मिला), कल्याणी रिजाल, गोमाकुमारी भट्टराई र लक्ष्मी खतिवडाले आ–आफ्नो धारणा राखेका थिए।

त्यसैगरी बैठकमा आमन्त्रित युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो मन्त्रालयबारे जानकारी गराएका थिए। केन्द्रीय कार्यसमितिको बैठक साउन २७ गते आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।