ओलीविरुद्ध नाराबाजी भएपछि रिसाएका देउवाले भने- लाज नभएका बदमासहरू



काठमाडौं । गौरा पर्व मनाउन टुँडीखेल पुगेका नेताहरूविरुद्ध नाराबाजी भएको छ। सोमबार टुँडीखेलमा नेताहरूले मन्तव्य दिने क्रममा युवाहरूको समूहले नाराबाजी गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य सुरु गरेलगत्तै उनीहरूले नाराबाजी गरेका थिए। क्रमशः पर्यटनमन्त्री बद्री पाण्डे, वनमन्त्री ऐनबहादुर शाही, एमाले नेता भीम रावलले मन्तव्य राखिरहेका बेला उनीहरूले चर्को नाराबाजी गरिरहेका थिए।


त्यलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मन्तव्य दिन आएका थिए। उनले सुरूमै नाराबाजी गर्नेहरूमाथि असन्तुष्टि व्यक्त गरेका थिए। गौरा पर्व मनाउँदै गर्दा कार्यक्रम नै बिथोल्न खोजेको भन्दै सभापति देउवा आक्रोशित बनेका थिए।

‘तपाईंहरू जति कराउनुछ कराउनुस्, लाज सरम छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू । यही हो तिमीहरूको संस्कृति ? यही हो नेपालीको चलन ? यही हो सिकेर आएको ? यस्तै छ, गौरापर्व सुन्न खेल्न र हेर्न आएकाहरूलाई न खेल्न दिएका छन् । कार्यक्रम बिथोल्न पछाडि बसे र जथाभावी बोलेका छन् ।’