एमसीसीअन्तर्गतको नेपाल–भारत सीमासम्मको १८ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता



काठमाडौं । एमसीसीअन्तर्गत नयाँ बुटवल सबस्टेशनबाट नेपाल–भारत सीमासम्मको १८ किलोमिटर सीमापार विद्युत् प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता भएको छ ।

एमसिए–नेपालले प्रसारण लाइन निर्माणका लागि ट्रान्सरेल लाइटिङ लिमिटेडसँग निर्माण सम्झौतामा हस्ताक्षर गरेको छ । शुक्रबार नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसीए–नेपालका पदाधिकारीको उपस्थितिमा आयोजित समारोहमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।


नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा एमसीसी कार्यान्वयन भइरहेको छ । उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण सम्पन्न गरिनेछ ।

प्रसारण लाइन निर्माणसँगै नेपाल–भारत सीमापार विद्युत् व्यापार सम्झौता कार्यान्वयनको महत्त्वपूर्ण कार्यभार पूरा हुनेछ ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले भने, ‘निर्माण सम्झौता सम्पन्न भइसकेका कुल १२.६० करोड अमेरिकी डलर बजेटयुक्त तीन वटा सबस्टेशनसहित यो १८ किलोमिटर प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउनेसन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘यो १८ किलोमिटर अंश निर्माण आयोजना मात्रै होइन, नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउनेसन्दर्भमा यो महत्वपूर्ण सेतु हो । यो उपलब्धि संलग्न भएका सबैको रणनैतिक दूरदृष्टि र प्रतिबद्धताको प्रमाण हो ।’

समारोहलाई सम्बोधन गर्दै एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले भन्ने, ‘१८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माणका लागि सम्झौता गर्नेसन्दर्भमा प्राप्त यो सफलतापूर्ण नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण गर्नेहाम्रो साझा यात्राको एउटा मुख्य कोशेढुङ्गा हो । यो उपलब्धि एमसीसी नेपाल कम्प्याक्टले गएको वर्ष हासिल गरेका कैयौँ सफलतामध्ये एउटा हो तर यसले वृहद् २९७ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गर्ने भएकोले यसको विशेष महत्व छ ।’

बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि यसैवर्षको अन्त्यसम्ममा बोलपत्र आह्वान गर्न एमसिए–नेपालले तयारी गरिरहेको छ ।