एमपक्स नेपालमा पनि आउनसक्छ तर कोभिडजस्तो आत्तिनु पर्दैन : डा पुन



कीर्तिपुर । जनस्वास्थ्यविद् डा शेरबहादुर पुनले संसारका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट स्वदेशमा आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताएका छन।  

जापानमा पढेका र तालिम लिएका नेपालीको संस्था जाइका एमुनाई एसोसिएसनद्वारा आज राजधानीमा आयोजित ‘वर्तमान विश्वमा स्वास्थ्य जीवनसम्बन्धी’ गोष्ठीमा बोल्दै डा पुनले हाल अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स ९मङ्की पक्स० नेपालमा पनि आउन सक्ने बताए ।


विगतमा स्वाइन फ्लु र कोभिडको प्रकोप पनि दक्षिण एसियाली क्षेत्रसम्म त्यसैगरी आइपुगेको बताए । “कतै देखिएको प्रकोपलाई हामी त्यो देशभन्दा धेरै टाढा छौँ भनेर ढुक्क हुने अवस्था छैन,” उनको भनाइ थियो । 

यद्यपि मङ्की पक्ससम्बन्धी अहिलेसम्मको चिकित्सा अनुभवले यो कोभिड जत्तिको खतराजनक नभएको देखिएको पनि डा पुनले बताए । यसलाई अहिलेसम्म ठेउला जस्तै छालामा हुने सङ्क्रामक रोगका रुपमा चिकित्सा विज्ञानले बुझेको डा पुनले बताए । 

सन् १९५८ मा बाँदरहरुमा देखिएका कारण मङ्की पक्स नाम पाएको यो रोग सन् १९७० मा कङ्गोका एकजना नौवर्षे बालकमा भेटिएपछि मानव शरीरमा पनि सङ्क्रमण हुने कुरा पत्ता लागेको थियो  । ज्वरो, कडा टाउको दुखाइ तथा अनुहार र हातमा खटिरा आदि यस रोगका लक्षण हुन् । अहिले यो रोग विश्वका ४० देशमा पुगिसकेको छ । 

पछिल्लो समय लामुखुटे नियन्त्रण प्रभावकारी नहुँदा डेङ्गीको समस्या बढ्दै गएको पनि उनले बताए । यसबाहेक हैजाको समस्या भने जार वा बोटलको पानी भन्दै नउमाली खाने बानीले बढाएको देखिएको पनि उनले बताए । 

कार्यक्रममा हृदयरोग विज्ञ डा ओम मूर्ति अनिलले हृदय रोग, मधुमेह र मिर्गौला रोग लाग्न नदिन बूढेसकाल लागेपछि होइन युवा उमेरदेखि नै अनुशासित खानपान र जीवनशैली हुनुपर्ने बताउनुभयो । शरीर ३० वर्षको आसपासमै अधिक तौल आदिले समस्या उन्मुख भइसकेको हुन्छ । त्यस्तो मानिसले ५० वर्षपछि कुनै अप्ठ्यारो परेर स्वास्थ्य जाँच गर्दा समस्या दीर्घकालीन भइसक्छ, उनको भनाइ थियो । 

कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपालमा वायु र जल प्रदूषण जनस्वास्थ्यका लागि सबैभन्दा प्रमुख चुनौतीका रुपमा देखिएको बताउँदै यसको समाधानका लागि स्वस्थ्य खानेपानीको आपूर्ति र वायु प्रदूषणका कारकहरू नियन्त्रण गर्नुपर्ने बताए ।