ई-हाजिरी यथाशीघ्र लागू गर्न मातहतका निकायलाई खानेपानीमन्त्री यादवको निर्देशन



काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय अन्तर्गतका सबै निकाय र कार्यालयलाई यथाशीघ्र ई–हाजिरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा केही समयअघि ई–हाजिरीको प्रारम्भ गरिएको भए पनि यसको प्रयोगमा कमी आएको गुनासो बढ्दै गएपछि मन्त्री यादवले निर्देशन जारी गरेका हुन् ।

मन्त्री यादवले कर्मचारीहरूको उपस्थितिको नियमितता, पारदर्शिता र सुशासन सुनिश्चित गर्न ई–हाजिरी प्रणालीलाई समयमै कार्यान्वयनमा ल्याउन र यसबाट कर्मचारीको उपस्थिति, बिदा र काजसम्बन्धी रेकर्ड व्यवस्थित गर्न सबै कार्यालयलाई निर्देशन दिए । उनले कुनै पनि निकाय वा कार्यालयले ई–हाजिरी लागू नगरेको पाइएमा यथाशीघ्र लागू गर्न भनेका छन् ।


यादवले रानीपोखरीस्थित खानेपानी तथा ढल व्यवस्थापन विभाग, मेलम्ची खानेपानी विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय अनामनगर, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड भैँसेपाटी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड त्रिपुरेश्वर, नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर र खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग त्रिपुरेश्वरलाई विशेष रूपमा ई–हाजिरी लागू गर्न निर्देशन दिएका हुन् ।

मन्त्री यादवका निजी सचिव भक्तराज जोशीका अनुसार मन्त्रीले ई–हाजिरी लागू गरेर कर्मचारीहरूको बिदा, काजलगायत रेकर्डहरूको जानकारी मन्त्रालयमा नियमित रूपमा अद्यावधिक गराउने व्यवस्था गर्न भनेका छन् । उनले भने, ‘ई–हाजिरी प्रणालीबाट बिदा, काजलगायत विषयलाई व्यवस्थित गरेर समय पालना र पारदर्शिता बढाउन सबै कार्यालयले यसलाई अनिवार्य रूपमा लागू गर्नु पर्दछ ।’ निर्देशपछि मन्त्रालय अन्तर्गतका सबै निकायमा ई–हाजिरीको प्रयोग अनिवार्य र नियमित हुने अपेक्षा गरिएको छ ।