अर्थतन्त्रमा सकारात्मक नतिजा देखिन थालेका छन्ः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् ।  

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उनले जनतामा विद्यमान निराशा चिर्न र आशाको सञ्चार जगाउन दुई ठूला दल मिलेर सरकार बनेको उल्लेख गर्र्दै गत वर्षको तुलनामा साउनमा राजस्व परिचालन र पुँजीगतखर्चमा वृद्धि भएको बताए ।  


प्रधानमन्त्री ओलीले आर्थिक गतिविधि क्रमशः चलायमान हुन थालेको बताउँदै सरकार गठन भएको एक सय दिनभित्र जनतालाई प्रत्यक्ष लाभ हुने गरी नीतिगत, कानुनी एवं सेवाप्रवाहमा सुधार गर्ने मार्गचित्रसहितको कार्ययोजना कार्यान्वयन प्रारम्भ भइसकेको जानकारी गराए ।  

फरक प्रसङ्गमा उनले दमकमा व्यापारिक गतिविधिलाई सहयोग पुर्‍याउने उद्देश्यले दमक बिजनेश कम्प्लेक्स निर्माण गरिएको बताए  । “योजनाको नाम दमक भ्यूटावर भए पनि प्रमुख रूपले व्यापारिक तथा पर्यटकीय दृष्टिकोणले मिश्रित हिसाबले उपयोग गर्न सकिने गरी भवनको डिजाइन भएको छ । टावर सञ्चालन कार्यविधि निर्माण गरी यसलाई छिट्टै सञ्चालनमा ल्याउने सरकारले तयारी गरिरहेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।