‘अबको बाटो’ पुस्तक सार्वजनिक



काठमाडौँ । लेखक भरतकुमार श्रेष्ठद्वारा सम्पादित ‘अबको बाटो’ पुस्तक सार्वजनिक गरिएको छ । दायित्व वाङ्मय प्रतिष्ठान नेपाल र शिखा बुक्सद्वारा आज यहाँ आयोजित समारोहमा पूर्वप्रधान न्यायाधीश अनुपराज शर्माले पुस्तक सार्वजनिकीकरण गरे । विभिन्न विधामा राष्ट्रिय जीवनमा ख्याति कमाएका २७ जना व्यक्तित्वका विचार कृतिमा समेटिएको छ । 

पुस्तकमा नेपालको विकास कसरी ? सिमाना नाघेका भानुभक्त र नेपाली साहित्य, नेपाली डायस्पोरा र हाम्रो मूलदेश, मलमा सधैँ परनिर्भरता कि विकल्पको खोजी ?, नेपाल किन पछि, अरू किन अघि ?, साइबर संस्कृति र साहित्य तथा मेरोदेश, मेरो सान, मेरो सर्वस्वजस्ता शीर्षकका लेख समेटिको छ । 


राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनदेखि अर्थशास्त्री चद्रमणि अधिकारी, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, डा. प्रकाश बुढाथोकी, प्राडा सुरेन्द्र केसीलगायत अबको बाटो शीर्षकसँग जोडिएका विचार पुस्तकमा समेटिएको छ ।

त्यस अवसरमा पूर्वप्रधानन्यायाधीश शर्माले नेपाली राजनीति दिशाहीन भइरहेको वर्तमान सन्दर्भमा मुलुकका स्वनामधन्य लेखकका अनुसन्धानात्मक लेखले मुलुकको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, राजनीतिक एवं शैक्षिक क्षेत्रका आयाममा तरङ्ग ल्याउने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपालका राजनीतिज्ञलाई अबको बाटोमा कसरी अघि बढ्नुपर्छ भन्ने सन्दर्भमा पुस्तकमार्फत लेखकले खबरदारी गरेका बताए । उनले भने, “रोजगारीका लागि विदेशमा श्रम गर्न गएका लाखौँ नेपालीलाई आपसमा जोड्दै ज्ञान, सीप, प्रविधि र पैसा स्वदेशमा भित्र्याउने विषयलाई राज्यले सहयोग र समन्वय गर्नुपर्छ ।”

सोही पार्टीका नेत्री डा.डिला सङ्ग्रौलाले मुलुकलाई विकास र समृद्धिमा लैजान भ्रष्टाचारको अन्त्य, सुशासन प्रवर्द्धन, योजना कार्यान्वयन, दक्ष जनशक्ति स्वदेशमै रहने वातावरण बनाउन आवश्यक रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले तुलनात्मक रुपमा विकास र प्रविधिका क्षेत्रमा विश्वका केही मुलुक अघि भए पनि संस्कार, संस्कृति तथा लैङ्गिक समानता र समावेशी लोकतन्त्रका विषयमा नेपाल अरूभन्दा निकै अघि रहेको धारणा राखे  ।

उनले भने, “राजनीतिक अस्थिरताका कारण प्रणाली हो कि व्यक्ति हो भन्ने पहिचान गर्नुपर्छ । राम्रा कुरा प्रवर्द्धन गर्नुपर्छ, कमी कम्जोरी सुधार्दै लैजानुपर्छ ।” राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशमा उल्लिखित विषय कार्यान्वयन गर्ने र बस्ती प्रणाली परिवर्तन गर्न सके देश विकासको ढोका खुल्ने प्रशस्तै सम्भावना रहेको बताए ।

अर्थशास्त्री डा.चन्द्रमणि अधिकारीले समाजका सबै क्षेत्रका मूर्धन्य व्यक्तित्वका लेखमार्फत समेटिएका विचारको निचोडका रुपमा देश अघि किन बढेन भन्ने चिन्तन समेटिएको बताए । संविधानसभा सदस्य उषाकला राईले आफनो देश, यहाँका उत्पादन तथा भएका कला र संस्कृतिप्रति गौरव गर्ने संस्कार र संस्कृति आवश्यक रहेको बताइन् ।

सो अवसरमा वाङ्मय प्रतिष्ठानका अध्यक्ष साहित्यकार रामप्रसाद पन्त, लेखक श्रेष्ठ, प्रकाशक पुष्पराज पौडेललगायतले पुस्तकमा समेटिएका विषयवस्तुबारे प्रकाश पार्दै प्राकृतिक स्रोत साधन, साहित्य, संस्कार र संस्कृतिका क्षेत्रमा नेपाल सम्मुनत रहेको बताए । तीन सय ४४ पृष्ठको पुस्तकको मूल्य रु सात सय ७० रहेको छ ।