नेताहरूलाई बालेनको चेतावनीः अदालतको आदेशलाई महानगरको निर्णय भन्दै गलत व्याख्या नगर्नू



काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीका नेता तथा कार्यकर्ताहरुले जनतामाझ भ्रम छरेको भन्दै त्यसो नगर्न एमाले नेतृत्वलाई चेतावनी दिएका छन् ।

एमाले काठमाडौं जिल्ला कमिटीले महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको समाचार बाहिरिएपछि मेयर बालेनले आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा यस्तो भनेका हुन् । उनले कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने भन्दै सचेत गराएका छन् । शाहले लेखेका छन्-


सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ। त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्न बाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ । अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्नु होला ।