साउनमा देवघाट मेलामा एक लाख भक्तजनले गरे स्नान



तनहुँ । प्रसिद्ध धार्मिकस्थल देवघाटमा यस वर्षको साउन महिनामा एक लाख ३० हजार भक्तजनले स्नान गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष भक्तजनको सङ्ख्या घटेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

अन्तिम सोमबारको उपस्थितिले भक्तजनको आवागमनमा वृद्वि गराएको समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । उनका अनुसार अन्य सोमबारको तुलनामा अन्तिम सोमबार एकै दिन करिब ५० हजारको हाराहारीमा भक्तजनको आवागमन भएको थियो ।


हिन्दु धर्मप्रति आस्था राख्ने भक्तजनले साउनको महिनामा देवघाट आएर स्नान गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । शालिग्राम पाइने नदी भनेर देवघाटधामलाई चिनिन्छ । मुस्ताङबाट आएको काली र गोसाइँकुण्डबाट आएको त्रिशूली नदीको सङ्गमस्थल भएकाले देवघाटधामलाई धार्मिक गन्तव्यका रुपमा लिने गरिन्छ ।

नदीको बहाव र मौसमलाई दृष्टिगत गर्दै नदी किनारमा नजान सतर्कता अपनाएका कारण यस वर्ष भक्तजनको उपस्थितिमा कमी आएको हुनसक्ने अनुमान समितिको रहेको छ । तुलनात्मक रुपमा पाँच सोमबार परेको वर्ष भक्तजनको सङ्ख्या बढी हुने गरे पनि यस वर्ष चार मात्रै सोमबार परेकाले धार्मिक आस्थाप्रति बढी विश्वास गर्नेहरु कम आएको हुनसक्ने उनले बताए ।

उनका अनुसार चितवनसहित गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, धादिङ, बागलुङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, मकवानपुर, भारतलगायत स्थानबाट भक्तजन स्नानका लागि आएका थिए । “हरेक वर्ष मेलामा आउने भक्तजनको गुनासोलाई समितिले सम्बोधन गर्ने प्रयास गर्दै आएको छ”, बरालले भने, “सुरक्षामा बढी ध्यान दिनुपर्ने हुँदा सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गरिएको थियो ।”