सरकार स्थिर भए नीतिगत स्थिरता कायम हुन्छ : अर्थमन्त्री पौडेल



काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर हुन सके मुलुकमा नीतिगत स्थिरता पनि कायम हुने बताएका छन् । 

आजदेखि काठमाडौँमा सुरु भएको ‘नाडा अटो शो २०२४’ को उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले विद्यमान व्यवस्थामा बन्न सक्ने स्थिर र मजबुद सरकारका रूपमा वर्तमान सरकार रहेको दाबी गरेका हुन् ।  


“राजनीतिक परिस्थिति अस्थिर भयो भने नीतिगत स्थिरता कायम हुन सक्दैन । अहिले बनेको यो सरकार स्थिर हो, यसले नीतिगत स्थिरताको पनि बलियो आधार दिएको छ”, अर्थमन्त्री पौडेलले भने । सरकारको स्थिरतासँगै अब नीतिगत स्थिरता पनि कायम हुने उनको भनाइ छ ।  

निजी क्षेत्रले व्यापारभन्दा पनि उद्योग र आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रित हुनुपर्नेमा अर्थमन्त्री पौडेलको जोड थियो । उद्योग क्षेत्रमा लगानी बढाउने  र आन्तरिक उत्पादन प्रवर्द्धन गरेर मात्र मुलुकको अर्थतन्त्र सुदृढ हुँदै जाने उनको भनाइ छ । अर्थमन्त्री पौडेलले सरकारका मन्त्रीहरू औपचारिक कार्यक्रममा बढी अल्झिँदा मन्त्रालयका काम प्रभावित हुनसक्ने भएकाले महत्त्वपूर्ण कार्यक्रमबाहेकमा मन्त्रीहरूलाई आमन्त्रण नगर्न पनि आग्रह गरे ।

नाडा अडो सो उद्घाटन कार्यक्रममा निजी क्षेत्रले सवारीसाधनलाई विलासिताका वस्तुभन्दा पनि आवश्यकताको वस्तुका रूपमा लिइनुपर्ने धारणा राखेको छ । साथै, नीतिगत स्थिरता कायम हुनुपर्ने माग पनि निजी क्षेत्रको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटोमोबाइल क्षेत्रलाई बिसाली वस्तुका रूपमा भन्दा पनि आवश्यक वस्तुका रूपमा लिइनुपर्ने बताए । त्यसका लागि सरकारको नीति परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले मुलुकको समग्र अर्थतन्त्र सुस्ताएका कारण अटोमोबाइल क्षेत्र सुस्ताएको बताए । सरकारको वित्त नीति तथा मौद्रिक नीतिबाट केही सहज व्यवस्था गर्नसके अटोमोबाइल क्षेत्रको बजार केही चलायमान हुने उनको भनाइ छ । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पनि अटोमोबाइल क्षेत्रलाई आवश्यक वस्तुका रूपमा परिभाषित गर्ने गरी नीति निर्माण गरिनुपर्ने बताए ।

नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रको कारोबार पारदर्शी रहेको बताउँदै अटोमोबाइल क्षेत्रमा सरकारको नीतिगत स्थिरता आवश्यक रहेको बताए । खुला सीमानाका कारण हुने अवैध व्यापार रोक्न सरकार जिम्मेवार भएर लाग्नुपर्ने पनि उनको भनाइ छ । 

अटोमोबाइल क्षेत्रमा रु. एक खर्बभन्दा बढी लगानी रहेको बताउँदै उनले मुलुकको अर्थतन्त्रलाई पनि यो क्षेत्रले महत्त्वपूर्ण टेवा पुर्याउदै आएको बताए । नेपालमा विद्युतीय गाडीको प्रयोग बढाउन थप पूर्वाधार आवश्यक रहेको पनि उनको भनाइ छ ।  

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा आजदेखि भृकुटीमण्डपमा ‘नाडा अटो शो, २०२४’ सुरु भएको छ । प्रदर्शनीमा विभिन्न सवारीसाधन तथा त्यसका पाटपुर्जा, बैंक तथा वित्तीय क्षेत्र, बीमा कम्पनीलगायतका स्टल राखिएका छन् । प्रदर्शनी साउन १६ गतेसम्म चल्नेछ ।