सरकारका काममा सुधारका संकेत देखियो: शंकर पोखरेल



काठमाडौं। नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सरकारका काममा सुधारका संकेत देखिन थालेको बताएका छन्।

ललितपुर, च्यालसस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले सकारात्मक काम गर्न सुरु गरेको बताए।


‘अहिले पुँजीबजारमा उल्लेख्य सुधार भएको छ। प्रशासनिक क्षेत्रमा काम गर्ने उत्साह देखिएको छ’, उनले भने, ‘आर्थिक क्षेत्रमा भने केही आशातित सुधार भएको छैन। यसलाई सुधार गर्दै लैजानुपर्दछ।’

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिका लागि दल बलियो हुनुपर्ने आवश्यकता औंल्याए। सत्ता राजनीतिमा साना साना दलहरूको बाहुल्यताको कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै उनले देशमा स्थायित्वको लागि बलियो राजनीतिक आधार तयार गर्ने उद्देश्यका साथ एमाले र कांग्रेस मिलेर सरकार बनाएको धारणा राखे।

महासचिव पोखरेलले राजनीकि स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्दा दुई तिहाई बहुमत आवश्यक पर्ने भएकाले कांग्रेस र एमाले मिलेको स्पष्ट पारे। मुलुक लगातार आर्थिक संकटमा आउन थालेपछि एमालेका अध्यक्ष शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दाबी गरे।