सडक मानवलाई आश्रय दिँदै मानव सेवा आश्रमः देशभर सयौंलाई आश्रय, १९ जिल्लामा २३ वटा आश्रम



झापा। मानव सेवा आश्रमले मेचीनगर नगरपालिका–४ आमडाँगीमा असहायलाई सडकबाट उद्धार गरेर पालनपोषण गर्ने उद्देश्यले आश्रम सञ्चालनमा ल्याएको छ। रु एक करोड लागतमा निर्माण भएको आश्रममा हाल २१ जना घरपरिवारविहीन सहयोगापेक्षी र सडक मानवहरुलाई आश्रय दिइएको आश्रम सञ्चालक होमनाथ तिम्सिनाले बताए।

आश्रम स्थापनाका लागि स्थानीय रामबहादुर प्रधान र लक्ष्मी प्रधानले रु चार करोड मूल्य बराबरको दुई बिगाहा १० कठ्ठा जग्गा दान गरेका थिए। सोही जग्गामा हाल ५० जना अट्ने क्षमताको आवास, भान्सा, शौचालय र आवश्यक पूर्वाधार निर्माण भएको तिम्सिनाले जानकारी दिए। यसलाई निकट भविष्यमा विस्तार गरेर दुई सय जना अटाउने पूर्वाधार निर्माणको योजना भइरहेको उनले बताए।


हेटौंडामा प्रधान कार्यालय रहेको मानव सेवा आश्रमको देशभर २३ वटा शाखा आश्रम सञ्चालनमा छन्। आश्रमको सञ्चालन र पूर्वाधार निर्माणका लागि मेचीनगर नगरपालिकाले आर्थिक सहयोग पुर्याइरहेको नगरप्रमुख गोपाल बुढाथोकीले बताए। नगरप्रमुख बुढाथोकीकै नेतृत्वमा हालै तीन जनाको उद्धार गरेर आश्रममा राखिएको छ।

“सडकमा कसैले पनि बास बस्नु नपरोस् र भोको पेट कोही पनि रहनु नपरोस् भनेर मानव सेवा आश्रमको मेचीनगर शाखा स्थापना र सञ्चालनमा नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको हो”, नगरप्रमुख बुढाथोकीले भने, “भवनलगायतका पूर्वाधार निर्माणमा पहिलो वर्ष नगरपालिकाले रु २५ लाख बजेट बिनियोजन ग¥यो । यस वर्षको बजेटमा पनि रु १० लाख छुट्याएका छौँ।”

छिमेकी पालिकाहरु कनकाई, बुद्धशान्ति, भद्रपुर, विर्तामोड र अर्जुनधाराले पनि आश्रमको सञ्चालन र विस्तारमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख बुढाथोकीले बताए। आश्रममा झापा, इलाम, पाँचथर र ताप्लेजुङमा रहेका सडक मानव र सहयोगापेक्षीहरुलाई उद्धार गरेर राखिने भएको छ ।

विसं २०७३ मा ‘सबैका लागि खाना र नाना’ भन्ने उद्घोषका साथ दर्ता भएको मानव सेवा आश्रमको १९ जिल्लामा २३ वटा आश्रम सञ्चालनमा छन्। यसको संस्थापक रामजी अधिकारी हुन्।

मानव सेवा प्रवद्र्धनको मूल उद्देश्य लिएको संस्थाले हाल देशभरका आश्रममा एक हजार सात सय १७ जना असहाय सडक मानव तथा सहयोगापेक्षीलाई पालनपोषण गरिरहेको छ। जसमा महिला सात सय ४० र पुरुष नौ सय ७७ जना छन्।

हालसम्म मानव सेवा आश्रमले १० हजार दुई सय १८ जनाको उद्धार, चार हजार ३० जनाको पारिवारिक पुनःमिलन र आठ सय ४८ जनाको सामुदायिक पुनःस्थापना गरिसकेको जनाएको छ।