सङ्खुवासभा भोटखोलाका चार लघु जलविद्युत् आयोजना मर्मत



खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिकाभित्र सञ्चालनमा रहेका लघु जलविद्युत् केन्द्र धमाधम मर्मत हुन थालेका छन्। 

अविरल वर्षासँगै आएको बाढी र अन्य कारणबाट क्षति पुगेका जलविद्युत् केन्द्रको मर्मतका लागि ऊर्जामन्त्री दीपक खड्काको निर्देशनमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको टोली भोटखोला पुगेर लघु जलविद्युत् केन्द्र मर्मत थालेको हो।  


भोटखोलामा हाल १५ लघु जलविद्युत् केन्द्र सञ्चालनमा रहेका छन्। गाउँपालिकाका स्थानीय समाजसेवी डुक्पा थिकेपा भोटेले भोटखोलामा बिग्रेका ११ लघु जलविद्युत् केन्द्रमध्ये हालसम्म छ वटाको परीक्षण गर्दा चार वटा मर्मतमा आइसकेको र बाँकीलाई पनि मर्मत गर्ने काम भइरहेको जानकारी दिए। 

जलविद्युत् केन्द्रमा भोटखोला–४ मा रहेको बाङ्गखोला लघु जलविद्युत्, खावुखोला लघु जलविद्युत्, रुकुमा लघु जलविद्युत् र चेपुवा लघु जलविद्युत् केन्द्र मर्मत भएका छन्। माङ्गमुगखोला जलविद्युत् आयोजनाको मुहानमा ठूलो पहिरो गएकाले तत्काल सञ्चालनमा समस्या भएको वैकल्पिक ऊर्जा केन्द्रका इञ्जिनियर विनोद भट्टराईले बताए। 

मान्दोखोला लघु जलविद्युत् आयोजना पनि तत्काल मर्मत गर्न समस्या रहेको उनले जानकारी दिए। गत असार ५ गते आएको पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने एकुवाखोला माथिको पक्की पुल बगाएपछि डेढ महिनादेखि कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडक अवरुद्ध हुँदा सदरमुकामसँग उत्तरी क्षेत्रको यातायात सम्पर्क टुटेको छ।