रैथाने जातका बीउ सम्वर्द्धन गर्नुपर्छ: कृषिमन्त्री अधिकारी



काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जातका बीउ सम्वर्द्धन गर्दै उच्च उत्पादन दिने बीउ तथा प्रविधिको आयात गरी उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन्।

काठमाडौंमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय बीउ सम्मेलनलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बीउविजन उत्पादनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्ने सकिने उल्लेख गर्दे मन्त्री अधिकारीले यसका लागि सरकारी, सहकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ भने।


मन्त्री अधिकारीले खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितताका लागि कृषि उपजको उत्पादन र उत्पादकत्व वृद्धि नै पहिलो शर्त भए पनि जलवायु परिवर्तन र खाद्य तथा कृषि प्रणालीमा आएको व्यापक परिवर्तनले हाम्रो कृषि र कृषि प्रणाली प्रभावित भइरहेको बताए। उनले कृषि क्षेत्रमा बदलिदो परिस्थितिको सामना गर्दे कृषि उत्पादनको वृद्धिमार्फत खाद्य तथा पोषण सुरक्षा सुनिश्चितताका लागि उन्नत जातका गुणस्तरीय बीउविजनको प्रयोग र विस्तारको आवश्यकतामा जोड दिए।

बीउविजन क्षेत्रमा नेपालमा विद्यमान सम्भावनाको खोजी तथा सदुपयोग गर्न, प्रविधि विकास तथा हस्तान्तरण गर्न र साझेदारी तथा सहकार्यमा बीउ उत्पादन कार्यमार्फत नेपालको खाद्य सरुक्षा तथा आयात प्रतिस्थापनमा सम्मेलन फलदायी हुने अपेक्षा व्यक्त गरे।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल बीउ व्यवसायी संघलगायतको सहकार्यमा सम्मेलनको आयोजना गरिएको हो।