युद्धको समयमा युक्रेनी स्वास्थ्य सेवाहरूमा दुई हजार आक्रमण



सन् २०२२ फेब्रुअरीमा रूसको आक्रमण सुरु भएदेखि युक्रेनमा स्वास्थ्य सेवाहरूमा कुल एक हजार नौ सय ४० आक्रमण दर्ता गरिएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोपेली शाखाले सोमबार जनाएको छ ।

डब्लुएचओले सन् २०२३ को डिसेम्बरदेखि विभिन्न सुविधा, उपकरण र कर्मचारीमाथि आक्रमण तीव्र भएको र पीडितको सङ्ख्या बढेको बताएको छ । “यो विश्व स्वास्थ्य सङ्गठनले कुनै पनि मानवीय आपत्कालमा अहिलेसम्म रेकर्ड गरेको सबैभन्दा ठूलो सङ्ख्या हो”, एक विज्ञप्तिमा भनिएको छ ।


डब्लुएचओले आक्रमणहरू तीव्र रूपमा खतरनाक भएको बताएको छ । “गत वर्ष २४ जना स्वास्थ्यकर्मी र बिरामीको मृत्यु दर्ता गरिएको थियो तर सन् २०२४ को पहिलो साढे सात महिनामा कूल ३४ जनाको स्वास्थ्य सेवामा भएको आक्रमणमा मृत्यु भएको छ”, सङ्गठनले भनेको छ द्वन्द्व सुरु भएयता स्वास्थ्य सेवामा भएको आक्रमणमा कूल एक सय ६६ जनाको मृत्यु भएको छ भने पाँच सय १४ जना घाइते भएका छन् ।

सोमबार विश्व मानवीय दिवसमा संयुक्त राष्ट्रसङ्घले मानवीय कार्यकर्ताहरूविरुद्ध सामान्य बन्दै गएको हिंसाको ‘अस्वीकार्य’ स्तरको निन्दा गरेको छ । राष्ट्रसङ्घका अनुसार मानवीय कार्यकर्ताविरुद्धको हिंसामा सन् २०२३ मा विश्वव्यापी रूपमा दुई सय ८० जना मारिएका थिए । डब्लुएचओले गाजामा इजरायल–हमास युद्धले यस वर्ष मृत्युको सङ्ख्या अझ बढी हुन सक्ने चेतावनी दिएको छ ।