यातायात कार्यालय मलङ्गवाद्वारा रु छ करोड बढी राजस्व सङ्कलन



बरहथवा । यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा रु छ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

गत आवमा यस कार्यालयले रु छ करोड ३६ लाख ५८ हजार ९१ बराबरको राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिए ।


उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत रु १४ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।

यस्तै पटके, रुट परमिटलगायत कारबाहीबाट रु दुई लाख ९२ हजार आठ सय ४०, चालक अनुमति पत्र र सवारी दर्ता किताब नवीकरणबापत रु एक करोड ४६ लाख ३८ हजार तीन सय १५ सङ्कलन भएको कार्यालय प्रमुख यादवले बताए ।

सवारीसाधन करबाट रु चार करोड ७३ लाख ११ हजार चार सय ३६ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको हो ।

कार्यालयले गत आवको चैत मसान्तको एक दिनमा रु ७० लाख बढी राजस्व सङ्कलन गरेको थियो । समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेस प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो ।

जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलङ्गवा कार्यालयमा भीड लागेको थियो । उक्त दिन रु ७० लाख बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख यादवले बताए ।

‘हामीले चैत मसान्तमा एकै दिन रु ७० लाखसम्म राजस्व सङ्कलन गरेका थियौँ’, उनले भने, ‘राति १२ बजेसम्म कार्यालयमा बसेर सेवा दिएका थियौँ । जेठ ४ गतेबाट चालक अनुमति पत्र परीक्षा (ट्रायल)समेत सुरु गरेका छौँ । यसले सेवाग्राहीलाई थप सुविधा पुगेको छभने राजस्व सङ्कलन दायरा फराकिलो भएको छ ।’

विसं २०८० साल मङ्सिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो । हरिवन नगरपालिका-३ निवासी रमा कोइरालाले यातायात सेवा कार्यालयको सेवा प्रभावकारी भएको जानकारी दिए ।

यसभन्दा अगाडि यातायातसम्बन्धी सेवाका लागि यहाँका सेवाग्राहीलाई वीरगञ्ज, जनकपुर, बर्दिबाससम्म धाउनुपर्ने बाध्यता थियो ।