म यो सरकार बनाउने काममा लागेको माननीय होईन तर जे भएको छ ठीक भएको छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस–एमाले मिलेर सरकार बनाएको विषयको प्रशंसा गर्दै जे भएको छ ठीक भएको भन्दै अब काम गरेर दुई दलबीचको सहकार्यको औचित्यबारे पुष्टि गरिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘जेठ २३ गते यही रोष्ट्रममा उभिएर अर्थमन्त्रालयको बजेटमाथि टिप्पणी गर्ने बेलामा भनेको थिएँ–६÷७ महिनापछि यही बजेटको भारी बोक्नुपर्ला, के बोलौं भनेर अलमलिएको थिएँ । त्यो बेलामा एमालेको एक जना माननीयले पशुपतिमा गएर धुप बालेपनि यो गठबन्धन केही हुँदैन भनेर उल्याउनुभएको थियो । मैले मेरो ईच्छा व्यक्त गरेको थिईनँ । साथी माननीय अलिकति झुक्किनु भएको थियो । मैले केवल अनुमान लगाएको थिएँ । मेरो अनुमानको आधार पनि थियो कि यहीँबाट माननीय रमेश लेखकले धोका खाएकाहरु मिल्यौं भने के होला भनेर राखेको प्रश्नभित्रै मेरो अनुमान लुकेको थियो । तर, मलाई यति छिटो यस्तो होला भन्ने चाहीँ लागेको थिएन । तर, धोका खानेहरु यति धेरै आँत्तिसकेको अवस्था बनिसकेको थियो, धोका दिनेको त्यो उथलपुथलको एनर्जी नघटेको हुँदा एउटा परिस्थिति बन्यो र अहिले नयाँ सरकार बनेको छ । म यो सरकार बनाउने काममा धेरै लागेको माननीय होईन । तर, आज परीणाममा जे भएको छ त्यो एकदमै ठीक भएको छ भनेर जोडका साथ भन्नेमध्येको हुँ । जे भएको छ, ठीक भएको छ । यो आसामान्य छ, ठीक छ । यसलाई ठीक बनाउनुपर्नेछ ।’


उनले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयन नै मुख्य विषय भएकोले त्यहीअनुसार चलिने विश्वास दिलाए । उनले दुई दलबीच भएको ७ बुँदे सहमतिमध्ये संविधान संशोधनको विषयमा उनले पछाडि फर्कने हल्ला गलत भएको बताए । उनले भने,‘२०४७ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनाईएको संविधानलाई पनि कम नआकौं । त्यसले हामीलाई ३० वर्षको पञ्चायतबाट बाहिर निकालेको थियो । रैतीबाट नागरिक बनाएको थियो । २०६२/०६३ पछि हामीले नयाँ आवश्यकत्ता महशुस गरेर नयाँ संविधान बनायौं । अब हामी त्यसबाट कदापी पछि फर्कन सक्दैनौं ।’