म्यान्माको जुन्टा प्रमुखलाई हिरासतमा लिइएको भन्ने सूचना अफबाह मात्रै



याङ्गुन, म्यानमा । म्यान्माको सेनाले बुधबार शीर्ष जनरलले जुन्टा प्रमुखलाई हिरासतमा लिएको अफवाह चिनियाँ विदेशमन्त्रीको भ्रमणअघि सरकारविरोधी समूहद्वारा फैलाइएको प्रचार मात्र भएको जनाएको छ ।

जुन्टा प्रमुख मिन आङ ह्लाइङले पछिल्लो समय सैन्य समर्थकबाट सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ । हाल यस क्षेत्रमा सरकारी सेना जातीय अल्पसङ्ख्यक सशस्त्र समूह र अन्य विपक्षीबीच आपसी द्वन्द्व चलिरहेको छ ।


मङ्गलबार सामाजिक सञ्जालका धेरै पोस्टमा शीर्ष जनरलले जुन्टाको शीर्ष नेतृत्व परिवर्तन गर्ने प्रयासमा राजधानी न्यापितमा सेनाप्रति बफादार सरकार प्रमुख मिनलाई हिरासतमा लिएको दाबी गरिएको थियो ।

दावी देशको ‘शान्ति र स्थिरता’मा खलल पार्ने उद्देश्यले गरिएको प्रचार मात्र भएको सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ्ग बुधबार म्यान्मामा मिन आङ ह्लाइङसँग वार्ताका लागि आइपुग्ने कार्यक्रम छ ।

भ्रमणको उद्देश्य विभिन्न क्षेत्रमा द्विपक्षीय पारस्परिक फाइदाजनक सहयोगलाई दृढ बनाउनु रहेको जनाइएको छ । चीन जुन्टाको प्रमुख सहयोगी हो ।

पछिल्लो समयमा जातीय सशस्त्र समूहहरूको गठबन्धनले चीनको युन्नान प्रान्तको सिमानामा रहेको उत्तरी शान राज्यको क्षेत्र जुन्टाबाट कब्जा गरेको छ ।

कब्जा गरिएको क्षेत्रमा शान राज्यको लासियो सहरमा सेनाको उत्तरपूर्वी कमान्ड समावेश छ र करिब एक लाख ५० हजार मानिसहरू बसोबास गर्छन ।

मिनले गठबन्धनले ‘विदेशी’ स्रोतबाट ड्रोन र छोटो दूरीका मिसाइललगायत हतियारहरू प्राप्त गरिरहेको बताए ।