मकवानपुर । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज दुईको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिका–१ र वडा नम्बर १० मा एक/एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
बिहान जिल्लाको हेटौँडा–१, स्थित पाथिभरा मन्दिर नजिकै स्थानीय ७० वर्षीया ठूलीमाया विक मृत अवस्थामा फेला परेका थिए । विक आफू सुत्ने कोठामा दुवै कानबाट रगत बगेको अवस्थामा मृत भेटिएकी हुन् । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि उनकै नातिलाई नियन्त्रणमा लिएर घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
हेटौँडा–१०, बसपार्कस्थित रत्ना होटलमा हेटौँडा–११ बस्ने अन्दाजी २३ वर्षीया एलिसा न्यौपाने मृत अवस्थामा भेटिएकी छन् । आइतबार साँझ ५ बजे समयमा उक्त होटलको २०५ नम्बरको कोठामा बस्न आएकी उनी आज बिहान मृत भेटिएकी हुन् ।
न्यौपानेसँगै अन्दाजी ३० वर्षीय एक पुरुष पनि आएर उक्त होटलमा बसेका थिए । तर, ती पुरुष भने राति ९ बजे नै कोठाबाट निस्किएर गएको र ती युवती आज बिहान अबेरसम्म पनि ननिस्किएपछि होटल सञ्चालक नवीन रानामगरले प्रहरीलाई जानकारी गराएका थिए ।
प्राप्त जानकारी लगत्तै पुगेको प्रहरी टोलीले खाटमाथि सिरकले मुख छोपिएको अवस्थामा न्यौपानेको शव फेला परेको बताइएको छ । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।