बाढीले पुल भत्काउँदा विद्यालयमा पठनपाठन बन्द



जाजरकोट । बाढीले पुल भत्काउँदा जाजरकोटको शिवालय गाउँपालिका–६ स्थित खडकदेवी माध्यमिक विद्यालय टुनीबगरको पठनपाठन बन्द छ । खोला तर्न नसक्दा विद्यार्थीहरू विगत नौ दिनदेखि विद्यालय जान पाएका छैनन् । 

विद्यालय जाने बिच बाटोमा रहेको भिउसखोलाको बाढीले पुल भत्काएको हो । विद्यालय आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा पठनपाठन बन्द गर्नुपरेको सो विद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भिउसखोलामा रहेको ट्रस ब्रिजको एउटा भाग पुरै भत्किएको शिवालय गाउँपालिकाका पूर्वाधार विकास शाखाका इन्जिनियर मनोज केसीले जानकारी दिए । 


“पुल निर्माण गर्न विकास साझेदार निकायसँग समन्वय भइरहेको छ”, उनले भने । विद्यार्थीको पढाइसँगै सर्वसाधारणको आवतजावत नै ठप्प भएको स्थानीयले बताएका छन् । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यही भदौ २ गतेदेखि विद्यालय बन्द भएको शिक्षा शाखाका प्रमुख मानबहादुर बस्नेतले बताए ।