बागलुङ पहिरो : थप दुई जनाको शव फेला, एक जना अझै बेपत्ता



ढोरपाटन (बागलुङ) । गत मङ्गलबार बिहान बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरामा परेर बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता छन् । पहिरामा परेर बेपत्ता ११ वर्षीय मनोज बुढाको शव बिहीबार साँझ फेला परेको हो ।

एघार वर्षीय सुमन थापा अझै बेपत्ता रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गतले जानकारी दिए । पहिराले घर पुरिँदा बेपत्ता भएका थापाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरी खोजी कार्य भइरहेको उनको भनाइ छ ।


पहिरोले घर पुरिँदा स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिने छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मङ्गलबार नै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । आज दुई जनाको शव फेला परेको उनको भनाइ छ ।

बिहान सात वर्षीया मधु बुढाको शव फेला परेको थियो भने केही बेर अगाडि मनोज बुढाको शव फेला परेको अध्यक्ष अधिकारी बताउछन् । अध्यक्ष अधिकारीका अनुसार पहिरामा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टरमार्फत उपचार गर्न काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार हुँदैछ ।