पाल्पाको एक विद्यालयमा एक हजार सात सय बढी छात्रालाई सेनेटरी प्याड वितरण



पाल्पा ।  पाल्पाको रामपुर नगरपालिकाले नगरभित्र रहेका विद्यालयमा सेनेटरी प्याड र डिस्पोजल मेसिन सहयोग गरेको छ । यहाँका एक हजार सात सय ५६ जना छात्रालाई लक्षित गरी विद्यालयलाई प्याड उपलब्ध गराएको हो । 

यहाँका १८ मावि तहलाई डिस्पोजल मेसिनसहित प्याड र अन्य छ वटा आधारभूत तहका विद्यालयलाई प्याड सहयोग गरेको नगरपालिकाले जनाएको छ । नगर शिक्षा अधिकृत विकल काफ्लेले २४ विद्यालयलाई ११ हजार ६२ प्याकेट सेनेटरी प्याड र १८ वटा मेसिन वितरण गरेको जानकारी दिए । 


 सशर्त अनुदान कार्यक्रम अन्तर्गत पहिलो चरणमा माध्यमिक विद्यालयलाई एक÷एक वटा डिस्पोजल मेसिनसहित र अन्य आधारभूत तहका विद्यालयलाई सेनेटरी प्याड वितरण गरेको र आगामी दिनमा अन्य विद्यालयलाई सहयोग गर्ने योजना रहेको उनले बताए । नेपाल सरकारको रु २० लाख अनुदानमार्फत डिस्पोजल मेसिन र सेनेटरी प्याड वितरण गरिएको हो । 

सशर्त अनुदान सेनेटरी प्याड व्यवस्थापन कार्यक्रमअन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने एक हजार सात सय ५६ विद्यार्थीलाई पुग्नेगरी प्याड उपलब्ध गराइएको उपप्रमुख बालकुमारी थापाले बताए । महिनावारीका बेला छात्राहरूको सहजता ल्याउन प्याड र प्रयोगपश्चात् व्यवस्थापनका लागि मेसिन वितरण गरेको उनले बताए ।