काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसंगीतज्ञ खुसीराम पाख्रिनका गीतसंगीतले आमनेपाली श्रमिकलाई उद्धेलित र संगठित हुन प्रेरित गर्दै आएको स्मरण गरेका छन्।
जेबी टुहुरे फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा पाख्रिनलाई ‘जनगायक जेबी टुहुरे सम्मान–२०८१’ प्रदान गर्दै उनले पाख्रिनले राजनीतिक परिवर्तनमा गीतसंगीतका क्षेत्रबाट खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। ‘हामीले दर्शन, सिद्धान्त र राजनीतिकका कुरा गरेर धेरै जनतालाई संगठित गर्थ्यो भन्ने लाग्दैन, जति खुसीरामले देशभर र प्रवासमा गाएका गीतले नेपाली श्रमिकलाई उद्धेलित बनाउथ्यो र संगठित गर्न प्रेरित गर्थ्यो’, अध्यक्ष दाहालले भने। पाख्रिनले आफैँ गीत रचना गर्ने, संगीत भर्ने र गाउने गरेको स्मरण गर्दै उनले खुसीराम आफ्नो गाउँले साथीका रूपमा असाध्यै मिलनसार योद्धाका रूपमा रहेको बताए।
अध्यक्ष दाहालले जनगायक जेबी टुहेरेले गीतसंगीतका माध्यमबाट देशभर जनतामा जागरण पैदा गर्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे। ‘पञ्चायतकालमा टुहुरेका गीत जनतामा जाने मुख्य सामग्री हुन्थे। वैचारिक राजनीतिक रूपमा भन्दा पनि श्रमजीविका गीत गाएपछि जनतालाई आकर्षित गर्न सकिन्थ्यो’, उनले भने।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष गुरु बरालले जनगायकद्वय पाख्रिनले टुहुरे एकै सिक्काका दुई पाटाका रूपमा जीवनभर जनताको पक्षमा गीतसंगीत गायन र सिर्जना गर्दै आएको स्मरण गरे। माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीले जीवनभर जनताका गीत गाएर पाख्रिनले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताए।
त्यस अवसरमा जेबी टुहुरे फाउन्डेसनको वेबसाइट सार्वजनिक गरिएको थियो। कार्यक्रममा कलाकारहरूले जनगायक पाख्रिनले सिर्जना गरेका गीतसंगीत प्रस्तुत गरेका थिए।