पहिरोले बगाएको सिँचाइ नहर मर्मत



कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला र पोखरा महागनरपालिका–१९ पुरुनचौरको मुख्य सिँचाइ नहर सञ्चालनमा आएको छ।

गत असार १७ गते राति पहिरोले क्षति पुगेको सिँचाइ नहर पुनःनिर्माणपछि सोमबार ३५ दिनपछि सञ्चालनमा ल्याइएको हो।


सार्दिखोला पुरुनचौर सिँचाइ आयोजनाको नहर पुरुनचौरको स्थानीपातल तथा सार्दिखोलाका विभिन्न आठ स्थानमा पहिरोले क्षति पुर्‍याएको थियो।

धान रोप्ने बेलामा सिँचाइ नहर पहिरोले बगाएपछि किसानले आकाशको पानीमा निर्भर रहेर दुःखका साथ रोपाइँ गरेका थिए। धान रोपाइँ गरे पनि रोपेको धान मर्न थालेपछि किसान चिन्तित बनेका थिए। रोपेको धानमा पानी अभावमा सिँचाइ हुनसकेको थिएन। सिँचाइ आयोजनाबाट सार्दिखोलाको एक सय र पुरुनचौरका तीन सय ५० हेक्टर जमिन सिँचाइ हुँदै आएको छ।

पुरुनचौरका स्थानीय अगुवा दीपक पौडेलले स्थानीयवासीको अथक प्रयासपछि सिँचाइ नहर सञ्चालनमा आएको बताए। मेसिन र मौसमका कारणले नहर सञ्चालमा ढिलाइ भएको पौडेलले बताए। नहर सञ्चालन भएर खेतमा पानी लगाउन पाएपछि किसानमा खुसीयाली छाएको छ। सो नहरको पानी सार्दिखोला र पुरुनचौरमा साँझ–बिहान पालो लगाएर खेतमा लगाउने गरिएको छ।

पौडेलले नहर पुनःनिर्माणका लागि रु १५ लाख खर्च भएको बताउनुभयो । नहर पहिरोले बगाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका प्रमुख धनराज आचार्यलगायतले स्थलगत निरीक्षण गरी किसानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

‘प्रदेश सरकार र महानगरबाट नहर पुनःनिर्माणका लागि सहयोगको प्रतिबद्धता प्राप्त भएको छ। अहिले हामी आफै उपभोक्ताले केही रकम संकलन गरेर काम सम्पन्न गरेका छौं। अब नहर सञ्चालन भएको छ। सरकारले दिने भनेको पैसाका लागि प्रक्रिया अघि बढाउँछौं,’ पौडेलले भने।

सार्दिखोला पुरुनचौर सिँचाइ विसं २०५२ मा निर्माण गरिएको हो। माछापुच्छ्रे –२ सार्दिखोलाको पानी पाँच किमी लामो नहरमार्फत ल्याएर पुरुनचौर र सार्दिखोलाको भुर्जुङखोलाको जमिनमा सिँचाइ गरिँदै आइएको छ।