पर्साको दूधेश्वरनाथ महादेव मन्दिरका दुई दर्शनार्थी मृत फेला



वीरगञ्ज । पर्साको प्रसिद्ध धार्मिकस्थल दूधेश्वरनाथ महादेव मन्दिर (भाथा धाम) दर्शन गर्न मकवानपुरबाट आएका दुई जना दर्शनार्थी मृत अवस्थामा भेटिएका छन् ।

पर्सा प्रहरीले मकवानपुरबाट गत शनिबार दर्शन गर्न आएका दर्शनार्थीलाई  जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको आशंका गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले पर्सा राष्ट्रिय निकुञ्जको कोर एरियामा दुई जनाको शव भेटिएको जानकारी दिए ।


मनहरी गाउँपालिका वडा नं ५ दिलीपुरका वर्ष ४० का रामबहादुर मुक्तान र सोही जिल्लाका राक्सीराङ्ग गाउँपालिका–२ टुमकीका ३२ वर्षीय राजकुमार नेगी मृत अवस्थामा भेटिएका हुन् ।

“निकुञ्जको कोर एरियामा दुई जनाको शव भेटिएको छ”, उनले भने, “फिल्डमा खटिएका उद्धार टोलीसँग टेलिफोन सम्पर्क हुन नसकेकाले पनि विस्तृत विवरण आइसकेको छैन ।” फेला परेका शवलाई आवश्यक मुचुल्का बनाएर नारायणी अस्पतालमा शव परीक्षणका लागि ल्याउने कार्य भइरहेको उनले जानकारी दिए।

इलाका प्रहरी ठोरी, निकुञ्ज सुरक्षा तैनाथ सबुत गणका लगायतका टोलीले खोजीकार्य गरेको थियो । दुई जना हराएको कुरा सोमबार मात्रै जानकारीमा आएको प्रहरीले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्रपर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा साउन महिनाभरि भारतीय र स्वदेशी दशनार्थीको घुइँचो लाग्ने गर्छ ।