धरहरा खुला गर्ने तयारी भइरहेको छः उपप्रधानमन्त्री सिंह



काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि  चाँडै धरहरा खुला गर्ने तयारी गरिरहेको बताएका छन् । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारसँगको अन्तरक्रियाका क्रममा उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।

उनले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त भने चाँडै हुने विश्वास व्यक्त गरे । ‘धरहरा चढ्न चाहनेका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्नेछ । धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौँ’, उपप्रधानमन्त्री सिंहले भने । 


यसअघि सरकार अस्थिर हुँदा नयाँ सहर निर्माण प्रक्रियामा ढिलाइ भएको भन्दै उनले हाल संसद्कै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ शहरलाई सुरक्षित र व्यवस्थित गर्ने काम अगाडि बढ्ने बताए । 

काठमाडौं उपत्यकाको फोहाेरमैला व्यवस्थापनका लागि पनि मन्त्रालयले स्थानीय तहसँग आवश्यक छलफल गरिररहेको उपप्रधानमन्त्री सिंहले जानकारी दिए । सरकारले नीति निर्माणमा बढी जोड दिइरहेको पनि उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।