फुङ्लिङ (ताप्लेजुङ) । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करणअन्तर्गत आज सम्पन्न उद्घाटन खेलमा सङ्घर्ष स्पोटिङ युवा क्लबले विजय सुरुआत गरेको छ । कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी (भारत) लाई पराजित गर्दै सो क्लबले विजयको सुरुआत गरेको हो ।
सङ्घर्ष स्पोटिङ युवा क्लबले कञ्चनजङ्घा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ७–५ गोल अन्तरले पराजित गरेको हो । यस जीतसँगै सङ्घर्ष स्पोटिङ युवा क्लबले प्रतियोगितामा विजय सुरुआत गरेको छ । यो क्लबले भदौ ५ गते रूपन्देही र मोरङबीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।
यता, कञ्चनजङ्घा फुटबल क्लब, सिलगुडीको खेलयात्रा भने यसै खेलसँगै समाप्त भएको छ । मङ्गलबारको खेलमा पाँचथर र सलहेश युवा क्लब, सिरहा आमनेसामने हुनेछन् ।
लाखेजात्रा पर्वका अवसरमा लाखेजात्रा सञ्चालन समितिले भानु जनमाध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको गोल्डकपको विजेताले नगद पाँच लाख तथा उपविजेताले दुई लाख ५० हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।