ताप्लेजुङ गोल्डकप: मोरङको सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश



ताप्लेजुङ । ताप्लेजुङमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लबलाई एक शून्य गोल अन्तरले पराजित गर्दै मोरङको सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सगरमाथाको जीतका लागि खेलको १९औँ मिनेटमा सुशील राईले गरेको गोल नै निर्णायक बन्यो । योसँगै भदौ ७ गते हुने पहिलो सेमिफाइनलको खेलमा सगरमाथाले घरेलु टिम सङ्घर्ष स्पोटिङ क्लब फुङलिङसँग खेल्ने छ । क्लबले यसअघि भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुढीलाई ७–५ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।


बुटवल लुम्बिनी एफसी ४ विदेशी खेलाडीलाई टिममा समावेश गरी मैदानमा उत्रिएको थियो । सुरुआती समयदेखि नै दबाबमा परेको बुटवलले अन्तिम समयमा निक्कै संघर्ष गरे पनि गोल फर्काउन सकेन ।

यसैबीच आजको खेलमा सगरमाथा युथ क्लबका कप्तान अशोक खवास म्यान अफ द म्याच बन्नुभएको छ । उहाँले नगद ५ हजार रुपैँया प्राप्त गरे । यसैबीच बिहीबार क्वाटर फाइनलको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र विर्तामोड युनाइटेड फुटबल क्लब झापाबीच २ः३० बजे खेल हुनेछ ।

ताप्लेजुङको खेल मैदानमा आर्मी पहिलोपटक भरत खवास, नवयुग श्रेष्ठसहितका खेलाडी लिएर मैदानमा उत्रिदैछ । भदौ १० गते सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद रु पाँच लाख पाँच सय ५५, उपविजेताले नगद रु दुई लाख ५० हजार पाँच सय ५५ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा प्रतियोगिताको आयोजना गरेको हो । यहाँ हरेक वर्ष लाखेजात्रामा प्रतियोगिता आयोजना हुने गरेको छ ।