टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापनाका पक्षमा नेपाल सरकारको ध्यानाकर्षण



टेक्सास । नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको संयुक्त राज्य अमेरिकास्थित टेक्सासको ड्यालसमा दूतावास सेवा कार्यालय (कन्सुलर अफिस) स्थापनाका पक्षमा पहल सुरु भएको छ ।  

प्रवासी नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सासको ड्यालसमा कन्सुलर अफिस  स्थापनाका लागि टेक्सासस्थित विभिन्न संघसंस्थाले नेपाल सरकारसँग अनुरोध गर्दैै आएका छन् । 


टेक्सास्थित नेपाली समाज र प्रवासी नेपाली समुदाय तथा नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति र नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्चले टेक्सासबाट नेपाली दूतावास रहेको स्थान वासिङ्टन डिसी टाढा रहेकाले समय र खर्च बढी लाग्ने भएको अवस्थालाई दृष्टिगतगरी ड्यालसमा कन्सुलर अफिसको व्यवस्था गरिदिन नेपाल सरकारसँग पुनःअनुरोध गरेको छ ।

नेपाली समाज टेक्सासका महासचिव विजय भुसालले वासिङ्टनस्टित नेपाली दूतावासले कहिलेकाहीँ शिविर सञ्चालनगरी कन्सुलर सेवा दिने भए पनि समयको अभाव र सेवा लिने नेपालीको चापका कारण असहज भएकाले ड्यालसमा कन्सुलर अफिस स्थापना होस् भन्ने पक्षमा यहाँस्थित प्रवासी नेपाली समुदायबीच एक मत रहेको बताए ।