जसपा नेपालले चार महिने सङ्गठन विस्तार जनअभियान सञ्चालन गर्ने



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय समिति बैठकले सङ्गठन विस्तारका लागि चार महिने जनअभियानमा सञ्चालन गर्ने निर्णय गरेको छ। यही साउन २७ गतेदेखि सुरू भई आज सम्पन्न केन्द्रीय समिति बैठकले सदन र सडकमा बलियो उपस्थिति जनाउँदै सङ्गठन निर्माणका लागि जनअभियानमा होमिने निर्णय गरेको हो ।

बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक, साङ्गठनिक एवं जनअभियानको प्रतिवेदन राय सुझावसहित सर्वसम्मतले पारित गरेको छ। बैठकले भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा सङ्गठन निर्माण एवं जनअभियानका लागि केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ।


यही भाद्र ९ गते काठमाडौँमा औपचारिक कार्यक्रम गरी पार्टी अध्यक्ष यादवले जनअभियानको उद्घाटन गर्नेछन्। प्रथमचरणमा जनअभियान चार महिनाको लागि मङ्सिर मसान्तसम्मको लागि तोकिएको छ ।

पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्न चार महिने सङ्गठन निर्माण अभियान चलाउने प्रस्तावलाई केन्द्रीय समितिले पारित गरेको थियो। बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले आगामी २०८४ को निर्वाचनसम्म सम्पूर्ण पार्टी पंक्तिलाई सङ्गठन निर्माणमा होमिन निर्देशन दिए। उनले जसपा नेपाललाई बलियो शक्तिको रूपमा स्थापित गर्नेगरी जनतामाझ पुग्न आग्रह गरे।